प्रवासी नेपाली मञ्च कतारको अधिवेशनमा भाग लिन सांसद सुहाङ नेम्वाङ दोहामा
दोहा। नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ प्रवासी नेपाली मञ्च, कतारको आठौँ राष्ट्रिय अधिवेशनमा सहभागी हुन कतार आइपुगेका छन्। नेम्वाङ अधिवेशनका प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
प्रवासी नेपाली मञ्च, कतारले ७ अगस्ट २०२६ मा दोहास्थित ‘सेन्ट्रा वेस्ट बे एण्ड सुइट्स, अल दाफ्ना’ मा आठौँ राष्ट्रिय अधिवेशन आयोजना गर्दैछ। अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै साङ्गठनिक सुदृढीकरण, वैचारिक स्पष्टता, आपसी एकता, अनुशासन र जिम्मेवारीबोधलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने जनाइएको छ।
मञ्चका सचिव शोभराज तिमिल्सिनाद्वारा जारी निमन्त्रणापत्रअनुसार समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
कतारमा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक तथा राजनीतिक संघ-संस्थाका प्रतिनिधि एवम् शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको यस अधिवेशनलाई मञ्चले आफ्नो साङ्गठनिक यात्राको महत्त्वपूर्ण अवसरका रूपमा लिएको नेता अफसर अली खानले जानकारी दिए।
कानुनी पृष्ठभूमि, प्रभावकारी संसदीय प्रस्तुति र शालीन शैलीका कारण नेम्वाङलाई एमालेभित्र मात्र नभई समग्र राजनीतिक वृत्तमा फरक पहिचान बनाएका युवा नेताका रूपमा हेरिने गरिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment