एमालेको घोषणा: सदस्यता डिजिटल बनाइने, वडा र पालिका स्तरमै प्रशिक्षण चलाइने

डिसी नेपाल
२१ साउन २०८३ ६:३०

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने भएको छ।

पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत उपत्यका प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा यसबारे जानकारी दिइएको हो। जनतासँगको सम्बन्ध स्थापित गर्ने र संगठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ एमालेले यो कार्ययोजना अघि सारेको हो।

कार्यक्रममा पार्टी सचिव डा. राजन भट्टराईले डिजिटल प्रणालीको भरपूर उपयोग गरिने बताए। पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमबाट अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिने भट्टराईको भनाइ थियो।

यस्तै, एमाले नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

पार्टीका अर्का सचिव भानुभक्त ढकालले सदस्यता र अन्य महत्त्वपूर्ण दस्तावेजलाई प्राकृतिक तथा अन्य सम्भावित सङ्कटबाट जोगाउनका साथै साङ्गठनिक कामलाई चुस्त बनाउन डिजिटल प्रणाली अनिवार्य रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *