संघीय मामिला मन्त्रालयद्वारा ७५३ वटै स्थानीय तहलाई पत्राचार: नामावली अद्यावधिक, फलफूल अनुदान र खोपमा जोड
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन र अद्यावधिकका लागि आवश्यक सहयोग एवम् सहजीकरण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।
मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग र समन्वय गर्न निर्देशन दिएको हो।
निर्वाचन आयोगको गत साउन १५ गतेको बैठकले वडा स्तरमै पुगेर मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि आयोगले मन्त्रालयसमक्ष सहयोगको आग्रह गरेको थियो।
अब वडा स्तरमा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण भिडाएर नामावली अद्यावधिक गरिनेछ। यो कार्य आगामी भदौ १५ गतेसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ।
निजी नर्सरी सुदृढीकरणका लागि प्रस्ताव माग
चालु आर्थिक वर्षका लागि तय भएको ‘निजी फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम’ का लागि राष्ट्रिय फलफूल विकास आयोजनाले प्रस्ताव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय मातहतको यो आयोजनाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा फलफूल नर्सरीको क्षमता विस्तार तथा गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ।
यस कार्यक्रममा आबद्ध हुने इच्छुक नर्सरीधनीले ५० प्रतिशतसम्म अनुदान प्राप्त गर्नेछन्।
‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ अनुसार इच्छुक कृषकले आवश्यक कागजातसहित एक महिनाभित्र केन्द्रीय आयोजना व्यवस्थापन इकाइ, कीर्तिपुरमा आवेदन पेस गर्नुपर्नेछ। सङ्घीय मामिला मन्त्रालयले यसमा पनि सहजीकरण गर्न स्थानीय तहहरूलाई पत्राचार गरिसकेको छ।
खोप कार्यक्रममा पहुँच बढाउन आग्रह
यसैगरी, मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रमका लागि आवश्यक समन्वय र व्यवस्थापन गर्न पनि स्थानीय तहहरूलाई अनुरोध गरेको छ।
खोप छुट भएका बालबालिकाको पहिचान गरी पहुँच बढाउन, तराई तथा भित्री मधेशका जिल्लामा नियमित खोपका साथै समुदाय स्तरमा थप खोप केन्द्र सञ्चालन गर्न भनिएको छ। खोप केन्द्रहरूलाई पायक पर्ने र पहुँचयोग्य बनाउन, तथा भीडभाड हुने स्थानमा थप प्रबन्ध मिलाई खोप सेवा प्रभावकारी बनाउन मन्त्रालयले जोड दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment