बाबुराम भट्टराईको पार्टी फुट्यो, पुरानो नयाँ शक्ति ब्युँतियो
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा तथा पूर्वरास्वपा नेता सन्तोष परियार लगायतका नेताहरू मिलेर गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ।
पार्टीभित्र बढ्दै गएको वैचारिक, राजनीतिक तथा सांगठनिक मतभेदका कारण एकीकृत रूपमा अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै अध्यक्ष परिषद्का सदस्यद्वय दुर्गा सोब र सन्तोष परियारबीच आपसी सहमतिमा अलग-अलग राजनीतिक यात्रा तय गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार दुर्गा सोबको नेतृत्वमा रहने पक्षले साविकको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लाई पुन: ब्युँताउने भएको छ। उक्त समूहले पार्टीको पूर्ववत् नाम, सांगठनिक संरचना र ‘आँखा’ निर्वाचन चिह्न कायम राख्दै राजनीतिक गतिविधि अगाडि बढाउने कानुनी प्रक्रिया अघि बढाउनेछ।
अर्कातर्फ, सन्तोष परियारको नेतृत्वमा रहने पक्षले भने पार्टीको नाम ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ नै निरन्तर राख्नेछ। यो समूहले ‘आँखा’ बाहेकको नयाँ निर्वाचन चिह्न र तीन रङको झण्डा प्रयोग गर्दै आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने सहमति गरेको छ।
यसअघि नै पूर्वमन्त्री सुदन किराँती र ओजस्वी भट्टराई लगायतका नेताहरू पार्टीबाट अलग भइसकेका थिए। दुवै पक्षबीच भएको सहमति अनुसार अब आ-आफ्नो दलको नाम, विधान, निर्वाचन चिह्न र सांगठनिक ढाँचा प्रयोग गरी स्वतन्त्र रूपमा राजनीतिक गतिविधि सञ्चालन गरिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment