सुरक्षा संयन्त्रको प्रयोगबारे सरकारले गम्भीर हुनुपर्छ : मिराज ढुंगाना
काठमाडौं। जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा हालै भएको साम्प्रदायिक द्वन्द्व र त्यस क्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभियन्ता ढुंगानाले सामान्य घटनामा पनि अत्यधिक बल प्रयोग गर्ने र नेपाली सेना परिचालन गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बनाउन सक्ने चेतावनी दिए।
कार्यक्रममा बोल्दै उनले हालैका घटनाहरूले जेनजी आन्दोलनको झझल्को दिएको टिप्पणी गरे। छिमेकी मुलुक भारतमा भएका आन्दोलनमा व्यापक जनसहभागिता रहँदा पनि मानवीय क्षति न्यूनतम रहेको उदाहरण दिँदै उनले नेपालमा भने साना झडपहरूमा पनि अन्धाधुन्ध गोली चल्ने र नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएकोमा आपत्ति जनाए। यस्ता घटनाको जिम्मेवारी सरकार र नेतृत्वले लिनुपर्ने उनको भनाइ थियो।
द्वन्द्व नियन्त्रणका नाममा प्रहरीलाई एसएलआर जस्ता घातक हतियार दिएर खटाउने र सामान्य अवस्थामा पनि सेना परिचालन गर्ने कदम उचित नभएको उनले तर्क गरे। सरकारले नेपाली सेनाको भूमिकालाई हलुका बनाएको आरोप लगाउँदै उनले यसले नागरिक स्तरमा सुरक्षा निकायप्रतिको साख घटाउन सक्ने बताए।
यसैबीच, राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै अभियन्ता ढुंगानाले मधेशका मुद्दा उठाउने नेताहरूमध्ये सांसद अमरेशकुमार सिंह मात्रै निरन्तर सक्रिय देखिएको दाबीसमेत गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment