इथानोल मिश्रण नीति बने पनि कार्यान्वयन सुस्त : उद्यमी खरेल

डिसी नेपाल
२२ साउन २०८३ ९:४१

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति ल्याएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उद्योगीहरूले बताएका छन्। इथानोल उत्पादनमा लगानी गर्न तयार रहेका उद्योगीहरूले सरकारबाट आवश्यक सहजीकरण र स्पष्ट पहल नहुँदा परियोजना अघि बढ्न नसकेको बताएका हुन्।

कियान केमिकल्स इन्डस्ट्रिज प्रालिका अध्यक्ष बेद प्रसाद खरेलले नेपालमा इथानोल मिश्रणसम्बन्धी नीति राजपत्रमा प्रकाशित भइसके पनि उद्योग स्थापनाका लागि आवश्यक वातावरण निर्माण हुन नसकेको बताए । उनका अनुसार सरकारले लगानीकर्तालाई यस क्षेत्रमा आउन औपचारिक आह्वान गर्ने, मूल्य निर्धारण गर्ने संयन्त्र बनाउने र नेपाल आयल निगममार्फत खरिद सम्झौताको प्रक्रिया अघि बढाउने काम अझै हुन सकेको छैन।

‘नीति बने पनि त्यसपछिको प्रक्रिया जहाँको त्यहीँ छ । उद्योगीहरूलाई उद्योग स्थापना गर्ने वातावरण सिर्जना गर्ने काम सरकारले अगाडि बढाउन सकेको छैन,‘ खरेलले भने। उनका अनुसार उद्योग मन्त्रालयका सचिवको अध्यक्षतामा मूल्य निर्धारणलगायत विषय टुंग्याउन समिति गठन गर्ने व्यवस्था भए पनि त्यसको प्रक्रिया अघि बढेको छैन।

उनले इथानोलको मूल्य निर्धारण भएपछि मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल आयल निगमले उद्योगीहरूसँग खरिद सम्झौता गर्नुपर्ने भए पनि ती सबै चरण अहिले रोकिएको बताए । ‘मूल्य निर्धारण, सरकारी निर्णय र खरिद सम्झौता तीनवटै काम हुन सकेको छैन, त्यसैले प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ उनले बताए ।

खरेलका अनुसार लगानीको वातावरण बन्ने अपेक्षामा आफूहरू पटक–पटक सरकारसँग छलफलमा रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । कियान केमिकल्ससहितका लगानीकर्ताले नेपाल आयल निगममा दुई पटकसम्म निवेदन दिइसकेको तर प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।

१० प्रतिशत इथानोल मिश्रणले अर्बौंको आयात प्रतिस्थापन

सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य लिएको छ । खरेलले एकैपटक १० प्रतिशतमा पुग्न कठिन भए पनि चरणबद्ध रूपमा उत्पादन बढाउन सकिने बताए । उनका अनुसार भारतले पनि सुरुवातमा कम प्रतिशतबाट सुरु गरेर अहिले उच्च मिश्रणतर्फ अघि बढेको छ ।

उनले नेपालमा १० प्रतिशत इथानोल मिश्रण कार्यान्वयन भए वार्षिक करिब १६–१७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगाउन सकिने बताए । ‘यो केवल पेट्रोल आयात घटाउने विषय मात्रै होइन, यसले रोजगारी र उद्योग विस्तारमा समेत योगदान गर्छ,‘उनले भने ।

खरेलका अनुसार १० प्रतिशत मिश्रणको लक्ष्य पूरा गर्न तीनदेखि पाँचवटा ठूला इथानोल उद्योग आवश्यक पर्न सक्छन् । एउटा उद्योग स्थापनामा करिब तीनदेखि साढे तीन अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र पाँचवटा उद्योग सञ्चालन हुँदा १०–१५ अर्ब रुपैयाँसम्म लगानी भित्रिन सक्ने उनको भनाइ छ । त्यस्तै, यस्ता उद्योगबाट २०–२५ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुन सक्ने उनले बताए ।

सवारीसाधनमा असर नपर्ने दाबी

पेट्रोलमा इथानोल मिश्रणका कारण सवारीसाधनमा समस्या आउने भन्ने अफवाहप्रति विश्वास नगर्न उनले आग्रह गरे । इथानोलले सवारी साधनमा असर गर्ने भन्ने धारणा गलत भएको खरेलले बताए । उनका अनुसार विश्वका धेरै देशमा लामो समयदेखि इथानोल मिश्रित पेट्रोल प्रयोग हुँदै आएको छ । अमेरिकामा १० प्रतिशत इथानोल मिश्रित पेट्रोल दशकौँदेखि प्रयोग भइरहेको र ब्राजिलजस्ता देशमा उच्च प्रतिशत इथानोल प्रयोग भएको उनले उल्लेख गरे ।

उनले नेपालले अहिले १० प्रतिशत मिश्रणको कुरा गरिरहेकाले पुराना वा नयाँ सवारीसाधनमा ठूलो परिवर्तन आवश्यक नपर्ने बताए । उच्च प्रतिशत मिश्रणमा जाँदा मात्र केही प्राविधिक समायोजन आवश्यक पर्ने उनको भनाइ छ ।

वातावरणीय लाभसमेत हुने

खरेलले इथानोलमा अक्सिजनको मात्रा बढी हुने भएकाले पेट्रोलसँग मिश्रण गर्दा प्रदूषण घटाउन सहयोग पुग्ने बताए । उनका अनुसार इथानोल मिश्रणले कार्बन उत्सर्जन कम गर्न सहयोग गर्ने र नेपालले तय गरेको कार्बन न्यूनीकरण लक्ष्यमा समेत योगदान पु¥याउन सक्नेछ ।

उनले हाइड्रोजन ऊर्जा पनि महत्वपूर्ण भए पनि त्यसका लागि बजार, पूर्वाधार र प्रविधिको तयारी आवश्यक रहेको बताए । इथानोल भने तत्काल उत्पादन गरेर पेट्रोलमा मिश्रण गर्न सकिने भएकाले आयात प्रतिस्थापनमा छिटो प्रभाव देखाउने उनको भनाइ छ ।

‘हाइड्रोजन राम्रो प्रविधि हो, तर त्यसको बजार सुनिश्चित हुनुपर्छ । इथानोल भने अहिले नै उत्पादन गरेर प्रयोग गर्न सकिने र विश्वभर परीक्षण भइसकेको प्रविधि हो,‘ खरेलले बताए ।

नेपालमा इथानोल उद्योग विकास गर्न सरकारले स्पष्ट निर्णय, लगानी सहजीकरण र खरिद सुनिश्चितताको व्यवस्था गर्नुपर्ने उद्योगीहरूको माग छ । नीति मात्र नभई कार्यान्वयनमा समेत तीव्रता आएमा इथानोलले ऊर्जा सुरक्षासँगै उद्योग, रोजगारी र विदेशी मुद्रा बचतमा महत्वपूर्ण योगदान दिन सक्ने उनीहरूको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *