ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही युक्त गुरुङको राजकीय सम्मानसहित अन्त्येष्टि
काठमाडौं। पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंको स्वयम्भूमा धार्मिक परम्पराअनुसार राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिअघि स्वर्गीय गुरुङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी, पर्वतारोही, परिवारका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गृहमन्त्री सुधन गुरुङले स्वर्गीय गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थितहरूले उनको साहस, समर्पण र नेपालको पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
पाकिस्तानको कराकोरम पर्वतशृङ्खलास्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित ६ नेपाली पर्वतारोही र चार विदेशी नागरिक गरी १० जनाको ज्यान गएको थियो। मृतकमध्ये पुरबहादुर गुरुङको शव बिहीबार कतार एयरवेजमार्फत नेपाल ल्याइएको थियो।
गोरखाको लाप्राक गाउँका स्थायी बासिन्दा गुरुङ नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी र सफल आरोहीका रूपमा परिचित थिए। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला विभिन्न हिमालहरू २८ पटक सफलतापूर्वक आरोहण गरेर नेपाली पर्वतारोहण क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए।
उनको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्रले एक अनुभवी, साहसी र समर्पित आरोही गुमाएको भन्दै पर्वतारोहण समुदायले गहिरो दुःख व्यक्त गरेको छ। गुरुङको योगदान र साहसिक यात्राले भावी पुस्ताका पर्वतारोहीलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment