उडिरहेको विमानबाट घरमा खस्यो बरफको डल्लो, एयरलाइन्सले दियो ठूलो क्षतिपूर्ति
काठमाडौं । कुनै दिन अचानक तपाईंको घरको छाना फुटाएर आकाशबाट हिउँको ठूलो डल्लो खस्यो भने के होला ? यस्तो अप्रत्यासित दुर्घटनाले घरमा क्षति पुग्ने मात्र होइन, भित्र बसिरहेका मानिसहरूको ज्यानसमेत जोखिममा पर्न सक्छ।
अझ, त्यो हिउँ प्राकृतिक नभई आकाशमा उडिरहेको जहाजबाट खसेको हो भन्ने थाहा पाएपछि मानिस स्तब्ध हुनु स्वाभाविकै हो। अमेरिकामा एक दम्पतीसँग ठ्याक्कै यस्तै घटना घटेको छ। यो मामिलामा अहिले सम्बन्धित एयरलाइन्सले अदालतबाहिरै सहमति गर्दै पीडित परिवारलाई ठूलो रकम क्षतिपूर्तिबापत बुझाउनुपरेको छ।
‘द इन्डिपेन्डेन्ट’ को रिपोर्टअनुसार अमेरिकाको क्यालिफोर्नियास्थित इङ्गलवुड सहरमा बस्ने माइकल रिस र लिया फरारिनीको घरमा नयाँ वर्ष २०२४ को पहिलो दिनमै एउटा ठूलो दुर्घटना भएको थियो।
१ जनवरी २०२४ को राति करिब ८ बजे उडिरहेको विमानबाट खसेको हिउँको ठूलो डल्लो उनीहरूको घरको छाना फोर्दै सोझै सुत्ने कोठा (बेडरुम) मा खसेको थियो। त्यसबेला दम्पती घरभित्रै थिए र हिउँको त्यो डल्लो उनीहरूको ओछ्यानको ठीक माथि खसेको थियो। सौभाग्यवश, दुवै जना बचे।
अनुसन्धानका क्रममा उक्त हिउँको डल्लो ‘जेटब्लू एयरवेज’ को विमानबाट खसेको खुलेको थियो। उक्त विमान न्युयोर्कबाट लस एन्जलसतर्फ गइरहेको थियो। दुर्घटनापछि दम्पतीले एयरलाइन्सविरुद्ध लापरवाहीको मुद्दा दायर गरेका थिए।
अदालतमा सहमति भएसँगै यो मुद्दा अहिले सुल्झिएको छ, यद्यपि दुवै पक्षले सहमतिको कुल रकम भने सार्वजनिक गरेका छैनन्। अदालतमा पेस गरिएका कागजातअनुसार दम्पतीले घरको छाना मर्मतका लागि ११ हजार अमेरिकी डलरभन्दा बढी र मानसिक तनावको उपचार (थेरापी) का लागि करिब ५,६०० डलर क्षतिपूर्तिको दाबी गरेका थिए।
यसका साथै माइकल रिसले दुर्घटनापछि मे २०२४ देखि फेब्रुअरी २०२५ सम्म आफू काममा जान नसकेको र त्यसबाट करिब ८४ हजार डलर आम्दानी नोक्सान भएको दाबीसमेत गरेका थिए।
क्यालिफोर्नियाको टोरेन्स सुपेरियर कोर्टका न्यायाधीश एलान बी. हनिकटले बुधबार यस सम्झौतालाई स्वीकृति दिएका हुन्। जेटब्लूका कानुन व्यवसायीहरूले यो सम्झौता दुवै पक्षका लागि उपयुक्त रहेको बताएका छन्। यद्यपि, मुद्दा अदालती प्रक्रिया (ट्रायल) मा गएको भए आफूहरूसँग जिम्मेवारीबाट जोगिने बलियो कानुनी तर्कहरू रहेको दाबी पनि एयरलाइन्सले गरेको छ।
यस घटनाको अनुसन्धानका क्रममा अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले विमानको मर्मतसम्भार रेकर्डको जाँच गरेको थियो। जाँचका क्रममा विमानमा जुलाई २०२३ देखि नै पिउने पानी (पोटेबल वाटर) प्रणालीसँग सम्बन्धित प्राविधिक समस्याहरू रहेको फेला परेको थियो।
दम्पतीका अनुसार एफएएले सोही विमानलाई अगस्ट २०२३ मा म्यासाचुसेट्समा भएको अर्को यस्तै घटनासँग पनि जोडेको थियो। त्यसबेला पनि सोही विमानबाट खसेको हिउँका कारण एउटा घरमा क्षति पुगेको थियो।
माइकल रिस र लिया फरारिनीले अक्टोबर २०२४ मा मुद्दा दायर गरेका थिए। यस दुर्घटनापछि आफूहरूलाई आफ्नै घरभित्र पनि सुरक्षित महसुस नहुने गरेको उनीहरू बताउँछन्। फेरि पनि आकाशबाट कुनै भग्नावशेष वा हिउँको डल्लो घरमा खस्ने हो कि भन्ने डर उनीहरूलाई निरन्तर लागिरहन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment