पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा

डिसी नेपाल
२२ साउन २०८३ २२:३४

गण्डकी। पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’मा सरेको छ। यसअघि नयाँबजारस्थित क्षेत्री समाजको भवनबाट पुस्तकालय सञ्चालित थियो।

तीन वर्षअघि महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रुपमा क्षेत्री समाज भवनमा सारिएको थियो। पोखराको चिनारी दिने गरी महानगरले बनाएको ‘पोखरा घर’बाट पुस्तकालय सेवा सुरु गरिएको पुस्तकालय सञ्चालक समितिका उपाध्यक्ष शिरोमणि बरालले बताए।

पुस्तकालय सरेसँगै नयाँ भवनमा आन्तरिक सजावट र व्यवस्थापनका काम भइरहेको उनको भनाइ छ। पुस्तकालय सञ्चालनका लागि भवनको तलासँगै फर्निचरलगायतका सामग्री महानगरले उपलब्ध गराएको उपाध्यक्ष बरालले बताए।

विसं २०४९ मा स्थापना भएको यस पुस्तकालयमा विभिन्न विधाका १२ हजारभन्दा बढी पुस्तक सङ्ग्रहित छन्। पोखरा महानगरपालिकासँगको सहकार्य र समन्वयमा पुस्तकालय थप व्यवस्थित र दिगो ढङ्गले सञ्चालन हुने बताइएको छ। “पोखरामा पठन संस्कृतिको विकासमा यो पुस्तकालयको ठूलो योगदान छ”, उपाध्यक्ष बरालले भने, “पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै समयानुकूल रुपान्तरणमा जोड दिन्छौँ।”

विद्युतीय पुस्तकालयलाई पनि थप व्ययवस्थित गरिने समितिले जनाएको छ। हालै निर्माण सम्पन्न भएको ‘पोखरा घर’को उद्घाटन हुन बाँकी छ। सोही घरमा आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र, कोशेली घर र पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय रहने बताइएको छ। दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’लाई छिट्टै पूर्ण रुपमा सञ्चालनमा ल्याउने महानगरको तयारी छ।

भूमिगत पार्किङसहितको ‘पोखरा घर’ पर्यटकका लागि आकर्षण बन्ने विश्वास लिइएको छ। रु पाँच करोड एक लाख ४६ हजारको लागतमा बनेको यस अपाङ्गमैत्री भवनमा विद्युतीय भर्‍याङ (लिफ्ट) को समेत सुविधा रहेको छ। ‘पोखरा घर’लाई परम्परागत वास्तुकलासहित आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *