होराइजन गौतम बुद्ध माविमा विपद् व्यवस्थापन तालिम: आगलागी नियन्त्रण र प्राथमिक उपचारको व्यवहारिक अभ्यास

डिसी नेपाल
२४ साउन २०८३ १३:२६

रुपन्देही। तिलोत्तमा नगरपालिका-१, ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयमा विपद् व्यवस्थापनसम्बन्धी एकदिने व्यवहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। होराइजन गौतम बुद्ध स्काउट ट्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई विपद्का समयमा आफू सुरक्षित रहने, अरूलाई बचाउने, उद्धार गर्ने तथा प्राथमिक उपचार प्रदान गर्ने विषयमा व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।

तालिममा सहभागीहरूलाई प्राथमिक उपचार (फर्स्ट एड), कार्डियोपल्मोनरी रिससिटेसन (सिपिएर) तथा आगलागी नियन्त्रणसम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो। विशेषगरी भान्सामा हुने आगलागी नियन्त्रण गर्ने सुरक्षित विधि, जोखिमपूर्ण आगो निभाउने तरिका, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानी तथा दुर्घटनाबाट बचेर अरूलाई जोगाउने उपायबारे विपद् व्यवस्थापन प्रशिक्षक अमृत बी.के. र स्काउट मास्टर सुरज भट्टराईले सहजीकरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं स्काउट मास्टर सुरज भट्टराईले यस्ता तालिमले विद्यार्थीमा विपद्प्रतिको सचेतना, आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको विकास गर्ने बताए। आपत्कालीन अवस्थामा सही निर्णय लिन सक्ने व्यवहारिक दक्षताले युवाहरूलाई जिम्मेवार र सक्षम नागरिक बनाउन सहयोग पुर्‍याउने उनको भनाइ थियो।

विद्यालयका प्राचार्य एवं स्काउट दलका अध्यक्ष गोपालप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विपद्मा परेकालाई सहयोग गर्नु स्काउटको मुख्य दायित्व भएको उल्लेख गरे। भूकम्पका बेला स्काउटहरूले राहत र उद्धारमा खेलेको भूमिकाको स्मरण गर्दै उनले आगामी दिनमा पनि विद्यार्थीको जीवनोपयोगी सीप, सुरक्षा सचेतना र नेतृत्व विकासका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। सहप्राचार्य ज्ञानेश्वर ज्ञवालीको स्वागत र स्काउट मास्टर सीता अधिकारीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *