रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने: मन्त्रीहरूले सोझै नागरिकका गुनासा सुन्ने

डिसी नेपाल
२४ साउन २०८३ १३:५४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ आगामी भदौ महिनादेखि “नागरिक, नीति र नेतृत्व” कार्यक्रम सञ्चालन गर्ने भएको छ।

निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु नै लोकतन्त्रको मर्म भएको उल्लेख गर्दै पार्टीले यो नयाँ अभियानको घोषणा गरेको हो।

सहमहामन्त्री असिम शाहद्वारा जारी विज्ञप्ति अनुसार, सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन्।

साँझ ५ देखि ६ बजेसम्मको एक घण्टा आम नागरिकका लागि छुट्याइनेछ, जहाँ मन्त्रीहरूले सोझै सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बसी प्राप्त सुझावहरूका आधारमा नीतिगत छलफल गरिने जनाइएको छ।

रास्वपाले यस कार्यक्रममार्फत भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने लक्ष्य राखेको छ।

नागरिक, सरकार, व्यवस्थापिका र सङ्गठनबीचको समन्वयलाई चुस्त बनाउँदै मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउन र वास्तविक समस्याका आधारमा राष्ट्रिय नीति तथा कानुन निर्माणमा धारणा तय गर्न यो अभियानले सहयोग पुर्‍याउने विश्वास पार्टीले लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *