नेपाल-भारत द्विपक्षीय सम्बन्धबारे प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट छलफल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच द्विपक्षीय सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान दुई पक्षबिच करिब ४५ मिनेट शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलमा नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा द्विपक्षीय सहकार्यका विविध आयामबारे विचार-विमर्श भएको छ। भेटवार्ताका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री पदबहालीपछि शाहले यसअघि कूटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त रूपमा भेटघाट गर्ने अभ्यास गर्दै आएका थिए।
यो भेटघाटसँगै प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग पहिलोपटक छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ताको सुरुआत गरेका हुन्।
यसैबीच, प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। दुवै छिमेकी मुलुकका राजदूतहरूसँगको भेटमा द्विपक्षीय हित, विकास परियोजना र कूटनीतिक सहकार्यका विषयमा संवाद हुने जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment