नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा (तस्विरहरू)
काठमाडौं । नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा सोमबार बृहत् धार्मिक पदयात्रा निकालिएको छ।
नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा राजधानीमा धार्मिक पदयात्रा गरिएको हो। पदयात्रामा सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने तथा नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका थिए।
पदयात्रामा सहभागीहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक नारासहितका ब्यानर र प्लेकार्ड बोकेका थिए। ‘धर्ममाथि हमला भएको छ, संरक्षण गरौँ’ लगायतका नारासहित सहभागीहरू राजधानीका विभिन्न क्षेत्रमा पदयात्रामा सहभागी भएका थिए।
आयोजक संगठनका अनुसार नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो। संगठनले पछिल्लो समय सनातन धर्म, संस्कृति र परम्परामाथि विभिन्न किसिमका चुनौती बढ्दै गएको दाबी गर्दै यसको संरक्षणका लागि राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्ने जनाएको छ।
नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने विषयलाई समेत संगठनले आफ्नो प्रमुख मागका रूपमा अघि सारेको छ। सहभागीहरूले धार्मिक स्वतन्त्रतासँगै नेपालको मौलिक धार्मिक एवं सांस्कृतिक पहिचानलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन्।
पदयात्राका क्रममा सनातन धर्म र संस्कृतिको संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको रक्षा र हिन्दू राष्ट्रको मागसहित विभिन्न नाराहरू लगाइएको थियो। धार्मिक पदयात्रामा विभिन्न क्षेत्रका धर्मावलम्बी तथा सनातन धर्मप्रति आस्था राख्ने व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
















No ads found for this position

डिसी नेपाल
Facebook Comment