प्यूठानका दुई खोला किनारमा बालक र महिलासहित चार जनाको शव फेला

डिसी नेपाल
२८ साउन २०८३ ११:५९

प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानस्थित माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ।

फेला परेका शवहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोला किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको हो। यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोला किनारमै कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, स्वर्गद्वारी-४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ भने बिहान करिब ९:३० बजे स्वर्गद्वारी-५ सरोजास्थित लुङ्ग्री खोला किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की एक महिलाको शव भेटिएको हो।

स्थानीयले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको कमान्डमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमान्डमा चार जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमान्डमा सिनियर प्रहरी अधिकृत (सोको) सहित १० जनाको टोली घटनास्थलमा खटिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र फेला परेका शवहरूको पहिचानका साथै मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *