देउवाको अभिभावकीय भूमिकाले पार्टी एकता थप मजबुत हुने कांग्रेस नेताहरूको विश्वास

डिसी नेपाल
२८ साउन २०८३ १८:००

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्त्वपूर्ण हुने कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता देवराज चालिसे र महामन्त्री प्रदीप पौडेलले देउवा कुनै एउटा गुट वा समूहको नभई समग्र पार्टीका साझा नेता भएको स्पष्ट पारे।

‘देउवा सबैका साझा नेता हुन्’ : प्रवक्ता चालिसे

प्रवक्ता देवराज चालिसेले लामो समय विदेशमा उपचार गराएर स्वास्थ्यलाभ गरी फर्किएका देउवालाई स्वागत गर्दै उनको योगदान, त्याग र अनुभवको पार्टीले उच्च मूल्यांकन गरेको बताए।

“उहाँ संस्थापन वा इतर समूहको मात्र नभई सबैको साझा नेता हुनुहुन्छ,” चालिसेले भने, “देउवाको समृद्ध अनुभवले आगामी दिनमा पार्टीलाई सही दिशा र अभिभावकत्व प्रदान गर्नेछ।”

१५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र वैचारिक प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यो विधानको परिधिभित्र रहनुपर्नेमा उनले जोड दिए। पार्टीमा नीतिगत भिन्नता नरहेको स्पष्ट पार्दै उनले भने, “पार्टीभित्रको बहसले नयाँ निष्कर्ष निकाल्न मद्दत गर्छ। यहाँ कसैको हार वा जित हुँदैन, हाम्रो एकता नै मुख्य शक्ति हो।”

देउवा फर्किएकै दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक निरन्तर चलिरहेकाले स्वागतका लागि विमानस्थल जान नस्किएको भन्दै त्यसलाई राजनीतिक रूपमा नलिन उनले आग्रह गरे। छिट्टै देउवासँग भेट गरी स्वास्थ्यलाभको शुभकामना दिने र आवश्यक परामर्श लिने चालिसेले बताए।

‘समूहको होइन, समग्र पार्टीको पक्षमा उभिनुपर्छ’ : महामन्त्री पौडेल

यसैगरी महामन्त्री प्रदीप पौडेलले देउवाको स्वदेश आगमनलाई सुखद भन्दै उनको उपस्थितिले पार्टीभित्रका समस्या समाधान गर्न ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

पौडेलले पूर्वसभापतिको हैसियतमा देउवाले कुनै गुट वा पक्षको नभई सिङ्गो पार्टीको हितमा काम गर्ने विश्वास व्यक्त गरे। “उहाँ कसैको पक्षमा उभिएर होइन, समग्र पार्टीलाई संगठित र एकीकृत बनाउने सन्दर्भमा अभिभावकीय भूमिकामा रहनुहुनेछ भन्ने हामीले आशा राखेका छौँ,” पौडेलले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *