धनगढी विमानस्थल स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग आग्रह

डिसी नेपाल
२८ साउन २०८३ २३:००

सुदूरपश्चिम। कैलालीको धनगढी विमानस्थल स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार एवं सुदृढीकरणका लागि आग्रह गरिएको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमको आयोजनामा आज काठमाडौंको सिंहदरबारमा भएको कार्यक्रममा विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन क्षमतासहितको विमानस्थलका रूपमा विकास गर्न आग्रह गरिएको नाट्टा सुदूरपश्चिम अध्यक्ष पदमविक्रम सिहंले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद, पर्यटन क्षेत्रका सरोकारवाला तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

सहभागीले विमानस्थलको स्तरोन्नति हुन नसक्दा सुदूरपश्चिममा पर्यटन, व्यापार, लगानी र आर्थिक गतिविधिको विस्तारमा समेत असर परेकाबारे मन्त्रीलगायत अधिकारीको ध्यानाकर्षण गराएको अध्यक्ष सिंहले जानकारी दिए।

यस्तै, विमानस्थलको स्तरोन्नतिलाई प्रदेशको समग्र पर्यटन विकाससँग जोडेर हेर्नुपर्ने, स्पष्ट योजना, पर्याप्त बजेट र समयबद्ध कार्यान्वयनका लागि तत्काल पहल गर्नुपर्नेमा जोड दिइएको थियो।

“सुदूरपश्चिममा खप्तड, शुक्लाफाँटा, अपी–नाम्पा, रामारोशन, बडीमालिका, घोडाघोडीलगायत पर्यटकीय क्षेत्र रहे पनि सहज हवाई पहुँचको अभावमा ती क्षेत्रको पर्यटन सम्भावना अपेक्षित रूपमा उपयोग हुन नसकेको सहभागीको भनाइ उद्धृत गर्दै नाट्टा प्रदेश अध्यक्ष सिंहले भने, “भारतसँगको सीमा क्षेत्र तथा पश्चिमी नाकासँगको व्यापारिक सम्भावनालाई समेत धनगढीको हवाई पूर्वाधारसँग जोडेर अघि बढाउनुपर्नेमा हामीले जोड दियौँ।”

सरोकारवालाले धनगढी विमानस्थललाई सुदूरपश्चिमको एउटा विमानस्थलका रूपमा मात्र नभई प्रदेशको पर्यटन, व्यापार, लगानी र आर्थिक समृद्धिको मुख्य प्रवेशद्वारका रूपमा विकास गर्नुपर्ने बताएका थिए।

“धनगढी विमानस्थलको स्तरोन्नति केवल विमानस्थलको विकास होइन, यो सुदूरपश्चिमको पर्यटन, व्यापार, रोजगारी र समृद्धिको आधार निर्माण गर्ने राष्ट्रिय महत्वको विषय हो”, कार्यक्रममा जोड दिइएको थियो।

जवाफमा मन्त्री पौडेलले सुदूरपश्चिमको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै विमानस्थलको स्तरोन्नतिलाई ठोस योजना र बजेटसहित अघि बढाउने विषयमा थप छलफल गरी निष्कर्षमा पुग्ने बताएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *