संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक पेस हुने

डिसी नेपाल
१ भदौ २०८३ ६:३५

काठमाडौं। संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार दुवै सदनका बैठक अपराह्न सिंहदरबारमा आह्वान गरिएको छ।

अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्या र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुका साथै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्कातर्फ, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ। राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *