रुसमा युक्रेनको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण: मस्कोसहितका क्षेत्रमा ८२२ ड्रोन प्रहार, सात जनाको मृत्यु
काठमाडौं । रुसी अधिकारीहरूले युक्रेनले रुसमाथि यस वर्षकै अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेका छन्। अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।
यस आक्रमणका क्रममा करिब ८२२ वटा ड्रोनहरूको प्रयोग गरिएको थियो, जसमध्ये ६०० वटा ड्रोनले राजधानी मस्को र त्यस आसपासका क्षेत्रहरूलाई निशाना बनाएका थिए।
मस्कोका क्षेत्रीय गभर्नरका अनुसार राजधानी मस्कोलाई लक्षित गरी हालैका वर्षहरूमा गरिएको यो सम्भवतः सबैभन्दा ठूलो ड्रोन आक्रमण हो। आक्रमणका क्रममा रुसी अनलाइन रिटेल कम्पनी ‘वाइल्डबेडिज’ को एउटा भण्डारण गृह (वेयरहाउस) मा पनि क्षति पुगेको छ। सो घटनामा तीन जना घाइते भएका छन्।
यो वेयरहाउस मस्कोको केन्द्रबाट करिब २५ किलोमिटर टाढा रहेको कोलेदिनो क्षेत्रमा अवस्थित छ। आक्रमण लगत्तै घटनास्थलमा भीषण आगलागी भएको थियो र वेयरहाउसमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो।
रुसको दक्षिण-पश्चिमी रोस्तोभ क्षेत्रमा रातभर भएका आक्रमणहरूमा पाँच जनाको मृत्यु भएको छ। यस्तै, युक्रेनको सीमासँग जोडिएको बेलगोरोड मा एउटा सर्वसाधारण सवार बसलाई निशाना बनाउँदा एक महिलाको ज्यान गएको छ। मस्कोमा भएको ड्रोन आक्रमणमा एक ८३ वर्षीय वृद्धको पनि मृत्यु भएको छ।
अर्कातिर, युक्रेनमाथि रुसले गरेका पछिल्ला आक्रमणहरूमा पनि कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३९ जनाभन्दा बढी घाइते भएका छन्।
रुस र युक्रेनबिच एक-अर्कामाथि हुने आक्रमणहरू लगातार तीव्र बन्दै गएका छन्। रुसले हालैका साताहरूमा युक्रेनका विभिन्न क्षेत्रहरूमा मिसाइल प्रहार बढाएको छ। यसको जवाफमा युक्रेनले पनि रुसका भित्री भूभागहरूलाई लक्षित गरी ड्रोन आक्रमणहरू गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment