पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

डिसी नेपाल
२ भदौ २०८३ १९:०४
136
Shares

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, लहान (सिरहा)का कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध मंगलबार मुद्दा दर्ता गरिएको हो।

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षण गर्ने क्रममा पेस गरिएका बिल विजक तथा कागजातहरू नमिलेको बहाना बनाउँदै कर अधिकृत पालले सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिएका थिए।

काम मिलाइदिने बहानामा उनले चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत रकमको बार्गेनिङ गरी पाँच लाख रुपैयाँ घुस मागेको उजुरी अख्तियारमा परेको थियो। सोही सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा कर अधिकृत पालले विभिन्न व्यावसायिक तथा औद्योगिक फर्म र कम्पनीहरूको लेखापरीक्षण एवं कर निर्धारण गर्ने क्रममा चार्टर्ड एकाउन्टेन्ट यादवसँग मिलेमतो गरी घुस लिएको पुष्टि भएको छ।

अख्तियारले पालको उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै पाँच लाख रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी लिइएको जनाएको छ।

त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट यादवले राष्ट्रसेवक कर्मचारी पालसँग मिलेमतो गरी रकमको बार्गेनिङ गर्न सघाएको र सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको अनुसन्धानमा खुलेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुरमा यादवलाई पनि सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *