सुनखानी भासिँदा ३० जना मजदूरको मृत्यु, अरू धेरै मजदूरहरू पुरिए
काठमाडौं । मध्य अफ्रिकी गणतन्त्र (सेन्ट्रल अफ्रिकन रिपब्लिक) को पश्चिमी क्षेत्रमा रहेको एक साना सुनखानी भासिँदा ३० जनाको मृत्यु भएको छ। अधिकारी र स्थानीयहरूका अनुसार दुर्घटनामा परी अन्य कैयौँ मानिसहरू पुरिएको आशङ्का गरिएको छ।
नाना-माम्बेरे क्षेत्रको अब्बा इलाकामा मङ्गलबार बिहान उक्त दुर्घटना भएको हो। दुर्घटनामा बाँच्न सफल खानी श्रमिक फ्लोरियन ग्यागुएन्डेका अनुसार उद्धारकर्ताहरूले पुरिएका अन्य श्रमिकहरूको खोजी जारी राखेका छन्। यद्यपि, उनीहरू जीवितै भेटिने आशा भने क्षीण हुँदै गएको ग्यागुएन्डेले बताएका छन्।
उपक्षेत्रका उपमेयर सुलेमान बीका अनुसार उद्धारकर्ता र स्थानीयवासीले कैयौँ घण्टाको कडा मिहिनेतपछि खानीबाट ३० वटा शव बाहिर निकालेका छन्। घाइते श्रमिकहरूको अस्पतालमा उपचार भइरहेको छ। उनले भग्नावशेषमा पुरिएका श्रमिकहरूलाई बाहिर निकाल्न हरसम्भव प्रयास भइरहेको जानकारी दिएका छन्।
उपमेयर सुलेमान बीले यस घटनालाई अत्यन्तै भयावह भन्दै उद्धारका लागि अन्य सङ्घ-संस्थाहरूसँग सहयोगको अपिल गरेका छन्। भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारका लागि सबैले अगाडि बढेर सहयोग गर्नुपर्ने उनको भनाइ छ।
घटनालगत्तै घटनास्थलमा खलबली र भागदौड मच्चिएको थियो। हाल भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रयास निरन्तर जारी छ।
सरकारी प्रवक्ताले यस दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। भग्नावशेषमा पुरिएकाहरूलाई बाहिर निकाल्न र घाइतेहरूलाई हरसम्भव सहायता पुर्याउन प्रयास भइरहेको उनले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment