रनवेमै रोकियो विमान, निसास्सिए यात्री, २ जना बेहोस धेरैले बान्ता गरे र कपडा फुकाले
काठमाडौं । माल्टाबाट बेलायततर्फ प्रस्थान गर्न लागेको रायनाएयरको एक विमानमा सवार यात्रुहरूले कहिल्यै बिर्सन नसकिने सास्ती खेप्नुपरेको छ। प्राविधिक खराबीका कारण विमानलाई लामो समयसम्म धावनमार्ग (रनवे) मै रोकेर राखिएको थियो।
सो क्रममा विमानको एयर कन्डिसनिङले काम नगरेपछि भीषण गर्मीका कारण यात्रुहरूको अवस्था बिग्रिन पुग्यो। गर्मीले सास्ती पाएपछि केही यात्रुले आफ्ना कपडासमेत फुकाले भने धेरैले बान्ता गरे र दुई जना बेहोस नै भए।
रिपोर्ट अनुसार, रायनाएयरको उडान एफआर ७२६८ ले गत अगस्ट १० मा माल्टाबाट बर्मिङ्गमका लागि उडान भर्नुपर्ने थियो। उडान बिहान ५:४० बजे तय भए पनि प्राविधिक समस्याका कारण ढिलाइ भएको थियो। १६ वर्षीया यात्रु इभा ग्रेगोरीका अनुसार समस्या विमानमा चढ्नुअघि नै सुरु भइसकेको थियो।
ग्रेगोरीले बताए अनुसार यात्रुहरूलाई करिब ३० मिनेटसम्म ‘एसी’ नभएको बसमा राखिएको थियो। त्यसपछि उनीहरूलाई अर्को बसमा सारियो, जहाँ पनि भेन्टिलेसनको उचित व्यवस्था थिएन र त्यहाँ पनि करिब आधा घण्टा पर्खनुपरेको थियो।
यात्रुहरू विमानभित्र प्रवेश गरेपछि पनि स्थितिमा सुधार आएन। ग्रेगोरीका अनुसार विमानमा छिर्नेबित्तिकै एयर कन्डिसनिङले काम नगरेको स्पष्ट भइसकेको थियो। प्राविधिकहरूले यसलाई मर्मत गर्ने प्रयास गरिरहेका थिए। यसका बाबजुद यात्रुहरूलाई विमानभित्रै एक घण्टाभन्दा बढी समय कुराइएको थियो, जसका कारण केबिन लगातार तातिँदै गएको थियो।
गर्मी सहन नसकेर धेरै यात्रुले आफ्ना कपडा फुकालेको, दुई जना बेहोस भएको र केहीले बान्ता गरेको ग्रेगोरीले दाबी गरिन्। स्वयम् ग्रेगोरीको पनि स्वास्थ्य बिग्रिएर ‘प्यानिक अट्याक’ आएको थियो। स्वास्थ्य अवस्था बिग्रँदासमेत यात्रुहरूलाई नि:शुल्क पिउने पानीसमेत उपलब्ध नगराइएको आरोप उनले लगाएकी छन्।
उता रायनाएयरले भने सुरुमा सामान्य प्राविधिक खराबी र पछि एक यात्रुको स्वास्थ्य बिग्रिएका कारण उडानमा थप ढिलाइ भएको जनाएको छ। इन्जिनियरहरूको जाँचपछि मात्र विमानलाई उडानको अनुमति दिइएको थियो।
एयरलाइनका अनुसार विमानले अन्ततः साँझ ७ बजे माल्टाबाट उडान भरेको थियो र उडान भरेपछि एयर कन्डिसनिङले काम गर्न थालेको थियो। यात्रुहरूले भने एयरलाइनसँग भविष्यमा यस्ता घटना दोहोरिन नदिन र यात्रुको सुरक्षालाई प्राथमिकता दिन माग गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment