डोनाल्ड ट्रम्पको निर्णय प्रतिक्रिया दिन लायक पनि छैनः किम यो जोङ
काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाबीच हुने ठूला संयुक्त सैन्य अभ्यासहरूलाई कटौती गर्ने ट्रम्पको निर्णय प्रतिक्रिया दिनका लागि लायक समेत नभएको बताएकी छिन् ।
उत्तर कोरियाली राजनीतिमा दोस्रो वरीयताको दर्जा पाएकी किम यो जोङले यस कदमले कुनै फरक नपार्ने बताएकी छन्। सैनिकको सङ्ख्या, अभ्यासको अवधि वा गतिविधिहरूमा मात्र कटौती गर्दैमा यस्ता सैन्य अभ्यासको चरित्र परिवर्तन नहुने उनको भनाइ छ।
किम यो जोङले यस कदमले उत्तर कोरियाको शैली नबदलिने स्पष्ट सन्देश अमेरिकालाई दिएकी छन्। उनले ट्रम्पको यस निर्णयलाई टिप्पणी गर्न योग्य भन्दै खासै महत्त्व दिन अस्वीकार गरेकी छन्।
वास्तवमा, अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष ठूलो मात्रामा संयुक्त सैन्य अभ्यास गर्दै आएका छन्। यस वर्षको मुख्य अभ्यास ‘उल्ची फ्रिडम सिल्ड’ रहेको थियो। उत्तर कोरियाले लामो समयदेखि यी अभ्यासहरूको विरोध गर्दै आएको छ।
लामो समयदेखि तानाशाही शासनअन्तर्गत रहेको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले यी सैन्य अभ्यासहरूमार्फत आफूमाथि आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएको छ। अर्कातर्फ अमेरिका र दक्षिण कोरियाले भने यसलाई आफ्नो सैन्य तयारी र संयुक्त रक्षा क्षमता सुदृढ गर्ने सामान्य अभ्यास बताउने गरेका छन्।
ट्रम्पले अमेरिकी सेनालाई दक्षिण कोरियासँग हुने सैन्य अभ्यासमा ठूलो कटौती गर्न निर्देशन दिएका छन्। त्यसपछि यस वर्षको उल्ची फ्रिडम सिल्ड अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गरिएको छ। साथै ‘फिल्ड ट्रेनिङ’का गतिविधिहरूमा पनि कटौती गरिएको छ। यद्यपि, परिवर्तनका बाबजुद आवश्यक सैन्य प्रशिक्षणका लक्ष्यहरू भने हासिल गरिने अमेरिकी सेनाको भनाइ छ।
ट्रम्पको यस निर्णयलाई उत्तर कोरियासँगको तनाव कम गर्ने प्रयासका रूपमा पनि हेरिएको छ। ट्रम्पले किम जोङ उनसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको दाबी लगातार गर्दै आएका छन्। हालै उनले उत्तर कोरियाली नेतासँगको सम्पर्क र कुराकानी सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए।
तर, प्योङयाङले भने सैन्य अभ्यासको कटौतीलाई कुनै ठूलो कूटनीतिक सङ्केतका रूपमा स्वीकार गरेको छैन। किम यो जोङका अनुसार उत्तर कोरियाका लागि मुख्य विषय भनेको अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अझै जारी रहनु नै हो। सैनिकको सङ्ख्या, अभ्यासको समय वा गतिविधिको स्तर घटाउँदैमा यस्ता अभ्यासहरूको मूल स्वरूप नबदलिने उनको तर्क छ।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास जारी राख्दासम्म उत्तर कोरियाले यसलाई आफ्नोविरुद्धको सैन्य दबाबका रूपमा लिइरहने चेतावनी उत्तर कोरियाले दिएको छ।
अमेरिका-उत्तर कोरिया सम्बन्धमा सैन्य अभ्यास पहिला पनि कूटनीतिको एक हिस्सा बनिसकेको छ। सन् २०१८ मा ट्रम्प र किम जोङ उनबीचको ऐतिहासिक भेटवार्तापछि अमेरिकाले केही ठूला सैन्य अभ्यासहरू रोक्ने वा सीमित गर्ने निर्णय गरेको थियो। त्यसबेला ट्रम्पले यी अभ्यासहरू खर्चिला र उत्तर कोरियाका लागि उक्साहटपूर्ण रहेको बताएका थिए।
तर, पछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अघि बढ्न सकेन। दुवै देशबीच प्रतिबन्ध हटाउने र उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई लिएर गम्भीर मतभेदहरू कायम नै रहे।
अहिले ट्रम्प प्रशासनले पुनः किम जोङ उनसँग संवादको सम्भावना खोजी गरिरहेको छ। यस्तो अवस्थामा सैन्य अभ्यासमा गरिएको कटौतीलाई तनाव कम गर्ने प्रयासका रूपमा हेरिएको छ। तर, किम यो जोङको पछिल्लो कडा प्रतिक्रियाले केवल सैन्य अभ्यास घटाउँदैमा उत्तर कोरियालाई पुनः वार्ताको टेबुलमा ल्याउन पर्याप्त नहुने सङ्केत गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment