इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाहीको घोषणा

डिसी नेपाल
४ भदौ २०८३ १४:०३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाहीको घोषणा गरेका छन्। इरानले सम्झौताको अवसर गुमाएको उल्लेख गर्दै अब उसलाई आर्थिक रूपमा पूर्णतः अलग-थलग पारिने उनले बताएका छन्।

ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थाहरूमाथि पनि कारबाही गरिने चेतावनी दिएका छन्। यसअन्तर्गत बैंक, कम्पनी, विमानस्थल र सरकारी निकायहरू पर्नेछन्।

उनले तेल तस्करी सञ्जालमाथि कडाइ गर्ने तथा नगद प्रवाह, मुद्रा विनिमय, पानीजहाजको दर्ता र नक्कली (सेल) कम्पनीहरूमार्फत इरानसम्म पुग्ने आर्थिक सहायता रोक्ने स्पष्ट पारेका छन्।

इरानको नौसेना र वायुसेनामा ठूलो क्षति पुगेको ट्रम्पले दाबी गरेका छन्। उनका अनुसार इरानका कैयौँ सैन्य कारखानाहरू ध्वस्त भएका छन्। साथै, इरानी मुद्राको अवस्था निकै दयनीय बनेको र देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको उनले बताए।

ट्रम्पले अमेरिकाको यस नयाँ कदमलाई ‘इकोनोमिक डी-डे’ को संज्ञा दिएका छन्। यसको सोझो अर्थ अमेरिकाले इरानमाथि अभूतपूर्व आर्थिक दबाब सिर्जना गर्न गइरहेको छ।

उनले अन्य देशहरूलाई पनि इरानलाई गर्दै आएको सहयोग रोक्न र अमेरिकाको यस अभियानमा सहभागी हुन अपिल गरेका छन्।

अमेरिकाको यस नयाँ कदमको सबैभन्दा ठूलो प्रभाव इरानको तेल व्यापार र वित्तीय कारोबारमा पर्ने देखिन्छ। इरानको आम्दानीको मुख्य स्रोत नै तेल बिक्री हो।

यदि अन्य देश, बैंक र कम्पनीहरूले अमेरिकी कारबाहीको डरले इरानसँगको व्यापार घटाए भने इरानका लागि तेल बिक्री गर्न र विदेशबाट रकम भित्र्याउन निकै कठिन हुनेछ।

तेल तस्करी र नक्कली कम्पनीहरूमाथि कडाइ गरिएपछि इरानका लागि गुप्त रूपमा व्यापार सञ्चालन गर्न र अमेरिकी प्रतिबन्धबाट जोगिन अझ जटिल हुनेछ। ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूसँग मिलेर इरानलाई विश्व समुदायबाट आर्थिक रूपमा अलग्याउने प्रयास अमेरिकाले गर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *