अमेरिकाले खाडी क्षेत्रबाट आफ्नो सेना घटाउने तयारी गर्दै
काठमाडौं । इरानसँगको युद्धपछि अमेरिकाले फारसको खाडी (गल्फ) क्षेत्रमा आफ्नो सैन्य उपस्थिति घटाउने विषयमा विचार गरिरहेको छ। वासिङ्टन पोस्टको रिपोर्ट अनुसार, पेन्टागनले अब गल्फ देशहरूमा पहिलेजस्तै ठूलो सङ्ख्यामा अमेरिकी सैनिक राखिराख्नु आवश्यक छ वा छैन भन्ने विषयमा समीक्षा गरिरहेको छ।
यसको मुख्य कारण युद्धका क्रममा अमेरिकी सैन्य आधार शिविर (बेस) हरूमा पुगेको ठूलो क्षति हो। रिपोर्ट अनुसार, त्यस क्रममा २०० भन्दा बढी अमेरिकी सैन्य संरचनाहरू क्षतिग्रस्त वा ध्वस्त भएका छन्। हाल अमेरिकाले जोर्डनदेखि ओमानसम्म फैलिएका करिब २० वटा सैन्य अखडाहरूमा करिब ४० हजार सैनिक तैनाथ राखेको छ।
यद्यपि, यस विषयमा अहिलेसम्म कुनै अन्तिम निर्णय भने भइसकेको छैन। पेन्टागन, जोइन्ट स्टाफ र अमेरिकी सेन्ट्रल कमान्डले संयुक्त रूपमा युद्धपछि मध्यपूर्वमा अमेरिकी सैन्य तैनाथीको स्वरूप कस्तो हुनुपर्छ भन्नेबारे मूल्याङ्कन गरिरहेका छन्।
बहराइनमा अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’ को मुख्यालय रहेको छ। त्यसैगरी कुवेत, कतार, संयुक्त अरब इमिरेट्स र अन्य गल्फ देशहरूमा पनि अमेरिकाका ठूला सैन्य अखडाहरू रहेका छन्।
अमेरिकाले विगत धेरै दशकदेखि यी सैन्य अखडाहरूमार्फत मध्यपूर्वमा आफ्ना सैन्य गतिविधिहरू सञ्चालन गर्दै आएको छ भने यस क्षेत्रका सहयोगी राष्ट्रहरूको सुरक्षामा समेत मद्दत पुर्याउँदै आएको छ।
इरानसँगको युद्धका क्रममा अमेरिकाका कैयौँ सैन्य अखडाहरू मिसाइल र ड्रोन आक्रमणको निसानामा परेका थिए। गत मार्चमा कुवेतको एक सैन्य अखडामा भएको आक्रमणमा परी ६ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।
रिपोर्ट अनुसार, युद्धमा २०० भन्दा बढी अमेरिकी सैन्य संरचनाहरूमा क्षति पुगेको छ भने यस अवधिमा कुल १८ जना अमेरिकी सैनिकको ज्यान गएको छ।
इरानको आक्रमणबाट जोगिनका लागि अमेरिकी सेनाले १,००० भन्दा बढी ‘एयर डिफेन्स इन्टरसेप्टर’ मिसाइलहरू प्रहार गर्नुपरेको थियो। यसले गर्दा प्याट्रियट र थाड जस्ता वायु रक्षा प्रणालीका मिसाइल भण्डारमा ठूलो दबाब परेको छ।
भविष्यमा यस्ता आक्रमणको जोखिम कम गर्नका लागि सैनिक तथा सैन्य उपकरणहरूको तैनाथीमाथि पुनः विचार गर्नु आवश्यक रहेको अमेरिकी अधिकारीहरूको ठहर छ।
पेन्टागनमा यतिबेला विभिन्न प्रस्तावहरूमाथि छलफल भइरहेको छ। जसमा गल्फ देशहरूबाट केही सैनिक र सैन्य उपकरणहरू हटाएर जोर्डन, इजरायल वा साउदी अरबको रातो सागर (रेड सी) किनार नजिक तैनाथ गर्ने सुझाव दिइएको छ।
यी क्षेत्रहरू इरानको प्रत्यक्ष मिसाइल र ड्रोनको पहुँचबाट तुलनात्मक रूपमा बढी सुरक्षित हुन सक्ने अधिकारीहरूको विश्वास छ।
रिपोर्ट अनुसार, सैनिक तैनाथीको विषयलाई लिएर ट्रम्प प्रशासनभित्र पनि फरक-फरक मत देखा परेको छ।
एउटा पक्ष अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति घटाएर ती स्रोत-साधनको बढी प्रयोग आन्तरिक सुरक्षा र चीनसँगको प्रतिस्पर्धामा गर्नुपर्ने पक्षमा उभिएको छ।
यसैगरी, अर्को पक्ष भने गल्फ देशहरू र इजरायलमा बलियो अमेरिकी सैन्य उपस्थिति कायम राख्नु आवश्यक रहेको र यसले मात्र मध्यपूर्वमा अमेरिकाको प्रभाव टिकाइराख्ने तर्क गर्दछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment