समस्या सुन्न सामुदायिक विद्यालयमै पुगे शिक्षामन्त्री पोखरेल (तस्बिरहरू)

डिसी नेपाल
४ भदौ २०८३ २२:०२

काठमाडौं। वर्षौंदेखि देशका सामुदायिक विद्यालयको गुणस्तर सुधारको नाममा कागजमा लाखौंको योजना बन्छन्, भाषण छाँटिन्छन् तर धरातलीय यथार्थ के छ रु अब यसको छिनोफानो गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आफैँ मैदानमा निस्किएका छन्।

फाइल र एसीको हावा खाने सिंहदरबारको कुर्सीमा अल्मलिएको मन्त्रालय यसपटक भने सीधै माटो र धुलो उड्ने कक्षाकोठामा पुगेको छ। मन्त्री सस्मित पोखरेलले काडमाडौँका विभिन्न सामुदायिक विद्यालयहरुमा आकस्मिक छड्के निरीक्षण गरिरहेका छन्।

अनुगमनका क्रममा अधिकांश विद्यालयहरूमा चरम लापरबाही, भौतिक संरचनाको बेहाल र शिक्षकहरूको गैरजिम्मेवारपन देखिएको पाइएको छ। विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुँदा पनि विद्यालय प्रशासन भने कागजी प्रगति प्रतिवेदन देखाएर बस्ने गरेको तितो सत्य मन्त्रीको सामुन्ने आएको छ।

विद्यार्थी र शिक्षकहरूसँग प्रत्यक्ष सम्वाद गर्दै मन्त्री पोखरेलले भित्री समस्याहरूको फेहरिस्त निकालेका छन् । किताब नपाएका गुनासा, भत्किएका छाना र शौचालयको दयनीय अवस्था देखेपछि उनले अब कुनै पनि बहानाबाजी नचल्ने कडा चेतावनी दिएका छन्।

मन्त्रीको यो कदमले वर्षौंदेखि सुतेको शिक्षा मन्त्रालयलाई त झक्झकाएको छ नै, साथै लापरबाही गर्ने विद्यालय प्रशासनलाई पनि तताएको छ। अब यो अनुगमन राजधानीमा मात्र सीमित हुन्छ वा देशैभर पुग्छ त्यो आगामी दिनमा मन्त्रालयले चाल्ने एक्सनले नै स्पष्ट पार्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *