पहिरोको जोखिममा रहेका ११५ जना सुरक्षित स्थानमा सारिए
बाजुरा। गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्णरूपमा क्षति पुर्याएपछि पहिरोको उच्च जोखिममा रहेका १४ घरपरिवारका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले स्थानीय ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको हो। पहिरोले घरभित्र रहेका सबै सामानसमेत पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार पहिरोका कारण दुवै घरमा ठूलो क्षति भएको छ। आसपासका क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप क्षति हुन नदिन १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
विस्थापितलाई तत्कालका लागि अस्थायी टहरामा राखिएको छ। पहिरोमा पुरिएका घरायसी तथा अन्य सामग्री निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन पालिकाबाट टोली परिचालन गरिएको बताएका छन्। उनले पहिरोबाट प्रभावित परिवारलाई आवश्यक सहयोग गर्न स्थानीय सामाजिक सङ्घसंस्था तथा सरोकारवालालाई समेत आग्रह गरेका छन्।
लगातार वर्षा भइरहेकाले कटीगाउँ आसपासका क्षेत्रमा थप पहिरोको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment