तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

डिसी नेपाल
५ भदौ २०८३ १२:३६

सुदूरपश्चिम। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्। कैलालीको धनगढीमा आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरूको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट मात्रै शिक्षामा सुधार सम्भव हुने बताएका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रूपमा सम्पादन गर्न नसकिने स्पष्ट पारे। उनले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐन, कानुनले गरेका व्यवस्थाको परिपालनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए। शिक्षा ऐन, नीति र कानुन बनाउँदा सरोकारवालाहरूसँग बढीभन्दा बढी संवाद गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले संवादकै माध्यमबाट सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (इडिसीयु) बीच समान बुझाइ कायम गर्न अभिमुखीकरणको आयोजना गरिएको बताए। समन्वय एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेका अनुसार अभिमुखीकरणमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश, इडिसीयु र स्थानीय तहका शिक्षा कार्यक्रमबारे विस्तृत छलफल गरिनेछ।

तीन दिनसम्म चल्ने सो कार्यक्रममा शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था, कार्यक्रमसँग जोडिएका सूचक तथा बजेट निकासाबारे जानकारी दिइनेछ। यसका साथै, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना तथा कार्ययोजना र बजेट विकास गर्ने विषयमा पनि प्रशिक्षण दिइनेछ। यसबाट स्थानीय तहले आफ्नो स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग कसरी जोड्ने भन्ने विषयमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग र त्यसबाट प्राप्त तथ्याङ्कको उपयोगबारे समेत छलफल हुनेछ। सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका शिक्षासँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको यो अभिमुखीकरणले स्थानीय तहमा शिक्षा कार्यक्रमको कार्यान्वयनलाई अझ बढी प्रभावकारी बनाउने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *