जनकपुरमा अतिक्रमित संरचनामा डोजर चल्यो
काठमाडौं । जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा फिर्ता ल्याउने उद्देश्यका साथ विशेष अभियानको सुरुवात गरिएको छ। सोही क्रममा शनिबार बिहान गिरनारी कुट्टीनजिकै अवस्थित पौराणिक गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन गुठी संस्थान जनकपुरधामले डोजर परिचालन गरी गैरकानुनी संरचनाहरू हटाउन थालेको छ।
यसअघि संस्थानले साउन १ गते सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै भदौ ५ गते नगर क्षेत्रमा माइकिङमार्फत ताकेता गरे तापनि अतिक्रमित जग्गा स्वतः खाली नभएपछि बाध्य भएर डोजरसहितको प्रशासनिक कारबाही अघि बढाउनुपरेको हो।
गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार पहिलो चरणमा अतिक्रमणको चपेटामा परेका पोखरीका डिलहरूलाई प्राथमिकताका साथ खाली गराइँदै छ।
जनकपुरधाम क्षेत्रमा रहेका करिब ५० वटा पोखरीमध्ये प्रारम्भिक चरणमा सातवटा पोखरीलाई पूर्ण रूपमा अतिक्रमणमुक्त बनाउने संस्थानको योजना रहेको छ।
डोजर चलाएर संरचना भत्काउने क्रममा उत्पन्न हुनसक्ने सम्भावित अवरोध तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment