प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा

डिसी नेपाल
६ भदौ २०८३ १६:२३

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण निर्माण गर्ने शैलीबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए।

थापाका अनुसार गिरिका लागि पढाइ सूचना र ज्ञान प्राप्त गर्ने माध्यम मात्र थिएन। प्राप्त ज्ञानलाई प्रशोधन गरी त्यसबाट आफ्नो दृष्टिकोण निर्माण गर्नु उनका लागि महत्वपूर्ण थियो। नेपाली कांग्रेसको नयाँ पुस्ताका धेरै नेताले गिरीबाट यही कुरा सिकेको उनले बताए।

उनले भने,‘प्रदीप दाईको लेख्ने र पढ्ने बानी अलग गरेर उहाँलाई सम्झन सक्दैनौं। उहाँलाई पढेर सूचना प्राप्त हुन्छ। पढेर ज्ञान प्राप्त हुन्छ। तर उहाँको ज्ञानको प्रयोग गरेर त्यसबाट एउटा दृष्टि निर्माण गर्ने कुरा सबैभन्दा महत्वपूर्ण थियो। हाम्रो पुस्ताका नेपाली कांग्रेसका थुप्रै साथीहरुलाई प्रदीप गिरिले सिकाउनु भएको सबैभन्दा मूख्य कुरा यही नै थियो।’

थापाले गिरि सँधैं सीमान्तकृत, कमजोर र समाजको पिँधमा रहेका मानिसको पक्षमा उभिएको उल्लेख गरे। गाउँगाउँमा पुग्दा पनि गिरिले त्यहाँका सबैभन्दा कमजोर मानिसले के महसुस गरिरहेका छन् र राज्यबाट के पाइरहेका छन् भन्ने आधारमा समाज र राजनीतिक अवस्थाको मूल्यांकन गर्ने गरेको उनले स्मरण गरे।

कार्यक्रममा थापाले गिरिको विचार र योगदानलाई संस्थागत गर्न चारवटा विषयमा फेलोसिप सञ्चालन गरिने जानकारी दिए। फेलोसिपका विषयमा नेपाली राजनीति, गणतन्त्र तथा संघीयता; समावेशिता तथा सामाजिक न्याय; साहित्य, दर्शन तथा विचारको इतिहास; र युवा नेतृत्व, नागरिक शिक्षा तथा लोकतान्त्रिक नवप्रवर्तन रहेका छन्।

यससँगै गिरिको व्यक्तित्व र योगदानसँग सम्बन्धित तीनवटा विशेष विषयमा समेत अध्ययन तथा अनुसन्धान गरिने भएको छ। ती विषयमा ‘प्रदीप गिरि र मधेश’, ‘प्रदीप गिरी राजनीति भन्दा पर’ तथा ‘प्रदीप र प्रेम’ रहेका छन्।

‘प्रदीप गिरि र मधेश’ अन्तर्गत मधेशको अधिकार, पहिचान र राजनीतिप्रति गिरिको दृष्टिकोणबारे अध्ययन गरिनेछ। ‘प्रदीप गिरि राजनीति भन्दा पर’ अन्तर्गत उनको दार्शनिक, सांस्कृतिक तथा साहित्यिक व्यक्तित्वबारे अनुसन्धान गरिनेछ। त्यस्तै, ‘प्रदीप र प्रेम’ अन्तर्गत उनको अन्तरंग जीवन, प्रेम, बस्तीपुर, बनारस तथा व्यक्तिगत जीवनसँग जोडिएका पक्षको अध्ययन गरिने थापाले बताए।

फेलोसिप प्राप्त गर्ने प्रत्येक व्यक्तिले वार्षिक पारिश्रमिकसहित नेपाली कांग्रेस र प्रदीप गिरि इन्स्टिच्युटका अभिलेखमा पहुँच, सम्पादकीय मार्गदर्शन तथा आफ्नो अनुसन्धान प्रकाशित गर्ने अवसर पाउनेछन्। फेलोसिपको अन्तिम उपलब्धिका रूपमा अनुसन्धानकर्ताले तयार पारेको पाण्डुलिपिलाई लिइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *