नापी सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख अकुत सम्पत्ति आर्जनको मुद्दा दायर

डिसी नेपाल
९ भदौ २०८३ १७:१३

काठमाडौं। नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडीले पदीय मर्यादाविपरीतका काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा २०४६ वैशाख १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो।

आयोगका अनुसार उक्त अवधिमा सुडी र उनको एकाघर परिवारको वैधानिक आय विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा जग्गा तथा शेयर खरिद, सवारीसाधन खरिद, बीमा, अध्ययन खर्च, ऋण तिर्ने रकम, बैंक मौज्दात तथा विभिन्न लगानीसहित ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

वैधानिक आयभन्दा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी रहेको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगले सुडीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको देखिएको जनाएको छ।

आयोगले सुडी र उनकी श्रीमतीविरुद्ध कानुनबमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *