नुहाउने क्रममा पोखरीमा डुबेका १० वर्षीय बालकको मृत्यु
रौतहट। रौतहटको परोहा नगरपालिका–५ रमनगरामा सार्वजनिक पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ११ः३० बजे पोखरीमा नुहाउन गएका स्थानीय शेख नसरुल हकका १० वर्षीय छोरा नासिर कलाम डुबेका थिए। पोखरीमा डुबेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी स्थानीयले करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय कोपवा पिपरियालाई गराएका थिए। सूचना पाएलगत्तै असई मिनबहादुर धमलाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको टोली तथा जिल्ला प्रहरी कार्यालय रौतहटबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाको कारण तथा अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment