त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

डिसी नेपाल
१० भदौ २०८३ २१:१२

चितवन। चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिएका छन्। कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा ल्याउने क्रम जारी छ। महिला÷पुरुष छुट्याउन कठिन भएको उनले बताए।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव राख्ने स्थानको खोजी गर्न लागिएको जानकारी दिए। अहिलेसम्म आएका शवसमेत राख्न सक्ने अवस्था नरहेकाले स्थानको खोजी गरिएको उहाँले बताउनुभयो। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने काम गरिरहेको छ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ। धादिङलगायतका क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएका कारण सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयय चितवनले सूचना जारी गरी जानकारी दिएको छ। यससँगै नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *