लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

डिसी नेपाल
१६ भदौ २०८३ २१:१३

काठमाडौं। रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७८० मिलिग्रामसहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोतिबहादुर रोकायलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ पूर्वेली दमार बस्ने २१ वर्षीय रञ्जन भोम्जनलाई नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ८६० ट्याब्लेट र नाइट्राजेपाम ४५ ट्याब्लेटसहित आज प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम ३८० मिलिग्रामसहित तीन जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी-३ बस्ने बर्दगोरिया गाउँपालिका-६ घर भएका २४ वर्षीय निराजन डगौरा, धनगढी-३ मिलन चोक बस्ने डोटी जोरायल गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरज नेपाली र धनगढी-३ बस्ने भारत पलिया घर भएका १९ वर्षीय दिनेश गुप्ता रहेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यसैबीच, प्रहरीले सोमबार मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको थियो।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१ बाट दुई, कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेबाट दुई, धनकुटाको धनकुटा नगरपालिका-२ गुराँसेबाट तीन, सुनसरीको इटहरी उपमहानगरपालिका-२ डम्फु चोकबाट दुई, कञ्चनपुरको कञ्चनपुरका विभिन्न स्थानबाट तीन, कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट एक, झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक, चितवनको कालिका नगरपालिका-१ स्थित हरियाली टोलबाट एक र बाँकेको कोहलपुर नगरपालिका-४ गुवागाउँबाट एक जना पक्राउ परेका प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *