राष्ट्रिय विपद् प्रभावितका लागि शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग
काठमाडौं। देशमा आइपरेको विनाशकारी विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले आज माननीय अर्थमन्त्रीलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो। यसका साथै, विपद्को तेस्रो दिनमै ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूका लागि २५ लाख रुपैयाँ बराबरका २,५०० थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको छ।
विपद्को यस कठिन घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शंकर ग्रुप परिवारले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल खोजतलास र उद्धारको कामनासमेत गरिएको छ।
सङ्कटको समयमा अहोरात्र उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक एवम् सरकारी अधिकारीहरूप्रति आभार प्रकट गर्दै शंकर ग्रुपले राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment