प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवान पोखराको रु १२ लाख २७ हजार सहयोग

डिसी नेपाल
१७ भदौ २०८३ ९:३७

कास्की। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ ।

पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका रेस्टुरेन्ट तथा क्याफे व्यवसायीहरूको संस्था रेवान पोखराले आफ्ना पदाधिकारी, सदस्य तथा आबद्ध व्यवसायीहरूको सहकार्यमा उक्त रकम सङ्कलन गरी कोषमा जम्मा गरेको हो ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायी, पदाधिकारी र सदस्यहरूबाट सहयोग रकम सङ्कलन गरेको हो । विपद्को समयमा व्यवसाय सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्नुपर्ने भएकाले प्रभावित नागरिकको सहयोगका लागि रकम जुटाइएको उनले बताए।

“विपद्को समयमा व्यवसायसँगै समाजप्रतिको दायित्व पनि उत्तिकै रहन्छ । धेरै नागरिक अहिले पीडामा हुनुहुन्छ । यस्तो बेलामा प्रभावित नागरिकको राहतका लागि सक्दो सहयोग गरेका हौँ,” अध्यक्ष पौडेलले भने ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीपहिरोबाट विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दै आएका छन् ।

रेवान पोखराले पनि विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *