सेना परिचालन भयो तर जनपरिचालन भएन, स्थानीय सरकारलाई जोड्न सकिएन: प्रचण्ड

डिसी नेपाल
१७ भदौ २०८३ १४:५८

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता एवं संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि सिर्जित विपद्को घडीमा सरकारले जनपरिचालन गर्न नसकेको औँल्याएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै संयोजक प्रचण्डले विपद्को सुरुवातमा सरकारले देखाएको सक्रियता पछि सुस्ताएको र केवल प्रशासनिक तथा सैन्य संयन्त्रमा मात्रै सीमित भएको टिप्पणी गरे।

संसद्‌मा बोल्दै प्रचण्डले भने, “सुरुवातमा प्रधानमन्त्री र मन्त्रीहरू सक्रिय भएर अनुगमनमा जाने-आउने कुरा त देखियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ज्यान जोखिममा राखेर उद्धार र राहतमा खेलेको भूमिका पनि सराहनीय छ, त्यसका लागि धन्यवाद दिनुपर्छ। तर, सेना परिचालन भयो, जनपरिचालन भने भएन। जनपरिचालन नगर्दासम्म विपद्‌को वास्तविक समाधान हुन सक्दैन।”

विपद् व्यवस्थापनमा केन्द्रीय सरकारले स्थानीय सरकार र आम जनतालाई समेट्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “सेना परिचालनसँगै जनपरिचालन जोडिएन र केन्द्रीय सरकारसँगै स्थानीय सरकार जोडिएन भने यति ठूलो समस्याको दीर्घकालीन समाधान हुँदैन,” उनले थपे।

प्रचण्डले रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा १,१०० भन्दा बढी नागरिकको ज्यान गइसकेको र हजारौँ अझै बेपत्ता रहेको गम्भीर परिस्थितिमा सुरुङभित्र फसेका कामदारहरूको उद्धारमा सरकारले थप सशक्त प्रविधि र जनबल परिचालन गर्नुपर्नेमा जोड दिए। राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधारहरूको सञ्चालनका लागि स्थानीय तह र स्थानीय नागरिक समाजलाई समेत परिचालन गरेर युद्धस्तरमा काम अगाडि बढाउन उनले सरकारसँग माग गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *