बाढी पीडितलाई राष्ट्र बैंकले भन्यो- चेक र कार्ड हराए पनि फोटो र हस्ताक्षर हेरेरै पैसा झिक्न पाइनेछ
काठमाडौं । रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बैंकिङ कागजात गुमाएका नागरिकलाई नेपाल राष्ट्र बैंकले विशेष वित्तीय सुविधा दिने भएको छ।
विपद्का कारण चेक, एटिएम कार्ड, मोबाइल तथा अन्य आवश्यक कागजात गुमाएका ग्राहकहरूलाई बैंकमा रहेको पुरानो हस्ताक्षरको नमुना, फोटो र व्यक्तिगत विवरण यकिन गरी तत्काल वित्तीय सेवा उपलब्ध गराउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सम्पूर्ण वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरूलाई यो सहजीकरण गर्न भनेको हो।
जारी सूचनामा भनिएको छ, “प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा यकिन गरी यस विषम परिस्थितिमा वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग/सहजीकरण गर्ने व्यवस्था मिलाउनू।”
विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई रकम झिक्न वा अन्य बैंकिङ कारोबार गर्न असहज नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले यो लचिलो नीति अख्तियार गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment