भोटेकोशी बाढी

सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

डिसी नेपाल
१८ भदौ २०८३ ६:४४

महोत्तरी।  बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा मोबाइलको स्क्रिनमा आँखा डुलाइरहने सरिताको घरमा एक सातादेखि चुल्हो बलेको छैन भने परिवारका कसैका आँखा ओभाएका छैनन्।

अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन छन्। “बाबुले आमा ठिकै छु भनेर फोन गरिहाल्छ कि भन्ने आशाले एकछिन पनि मोबाइल छाडेकी छैन,” सरिता भन्छिन्, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झिन सक्दिनँ।”

यही भदौ १० गते बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्छिन्, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न खोज्यौँ, तर त्यो दिन बिहान ९:०० बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन।” सौभाग्यको खोजीमा बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त यतिबेला रसुवा पुगेका छन्।

“एकचोटि त भन्दियोस्- आमा म फसेको थिएँ, अब निस्किएँ,” उनी भन्छिन्, “सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एकछिन पनि मोबाइल छाडेकी छैन।” सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इन्जिनियर छोरा सौभाग्यकै आम्दानीको भरमा चलेको थियो।

यसैगरी, बर्दिबास-९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि घरको चुल्हो नबलेको एक साता नाघिसकेको छ।

अपर त्रिशूली-१ जलविद्युत् आयोजनामै कार्यरत छोरी जोया रानासँग भदौ १० गते बिहान ९:०० बजेयता सम्पर्क हुन नसकेपछि यो परिवारमा सन्नाटा छाएको छ।

“सन्तानका नाममा तीनवटा छोरी छन्, अलि लेखपढ भएकी हुनाले जोयाकै भरमा परिवार चलेको छ,” बुबा खिलबहादुर राना भन्छन्, “जसमाथि जिन्दगी सुम्पन खोजिएको थियो, उही सम्पर्कविहीन भएकी छिन्।” आफैँले हेलिकप्टर भाडामा लिएर कैयौँपटक रसुवा र नुवाकोटका त्रिशूली किनारमा चक्कर लगाए पनि छोरीको अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुर आँसु झार्दै बताउँछन्।

यसैगरी, मटिहानी–७ का ४० वर्षीय गंगाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उनको एक वचनको पर्खाइमा छन्। “भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,” पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्छिन्, “त्यसपछि उहाँसँग सम्पर्क भएको छैन।”

आमा र चार छोराछोरी निरन्तर गङ्गारामलाई सम्झिरहेका बेला आफू आँसु झार्न पनि नसकेको गुञ्जाको बिलौना छ। काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काममा रहेका मण्डल यही भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए। परिवारको एउटै सहारा गंगाराम सम्पर्कविहीन भएपछि निकै छट्पटी बढेको छ।

यस्तै, जलेश्वर-७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९:०० बजेपछि सम्पर्कविहीन छन्। केही दिनअघि मात्र रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्न गएका अन्सारीले अन्तिमपटक भदौ ९ गते आमा मुलिमा खातुनलाई फोन गरेका थिए।

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताएको स्मरण बुबा माजिद अन्सारी गर्छन्। “दिनदिनै घरमा फोन गर्थ्यो, भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,” बुबा माजिद भन्छन्, “यही भदौ १० यता घरमा चुल्हो बलेको छैन, आफन्त जो आउँछन् घरमा सबैका आँखा टिलपिलाएका छन्।” कसैले हशनबारे राम्रो समाचार सुनाउला कि भन्ने पर्खाइ मात्र बाँकी रहेको माजिद बताउँछन्।

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तवरले पारिवारिक सम्पर्कमा पठाइसकेको छ।

त्यसबाहेक सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना पारिवारिक सम्पर्कमा आइसकेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। “अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी यादवले भने, “सबै सकुशल भेटिने विश्वास गरौँ।” रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *