फिल्म ‘पेन्सन पट्टा’लाई ‘यू’ सर्टिफिकेट, रनटाइम २ घण्टा ८ मिनेट
काठमाडौं। माओत्से गुरुङ निर्देशित नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल (‘यू’) प्रमाणपत्र प्राप्त गरेको छ। यो प्रमाणीकरणसँगै अब सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन्। दयाहाङ राईको मुख्य भूमिका रहेको यस फिल्मको कुल रनटाइम २ घण्टा ८ मिनेट रहेको छ।
भदौ २६ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको यो फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनाको कथालाई केन्द्रमा राखेको छ। बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख-सुविधाले भरिएको देखिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव र भावनात्मक सङ्घर्षलाई पर्दामा उतारिएको छ।
फिल्मको कथा पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम परेको प्रसङ्गबाट सुरु हुन्छ। वर्षौंदेखि परिवारको स्मरणबाट ओझेलमा परेकी तिनै जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टा, पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलताहरू फिल्ममा देखाइएको छ।
अभिनेता दयाहाङ राईका अनुसार ३०-४० वर्षअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को ठूलो महत्व थियो। भूतपूर्व गोर्खालीको योगदान र पेन्सनले परिवारमा पार्ने प्रभावका साथै प्रेम, भावना र पारिवारिक सम्बन्धका अनेकौँ तहलाई फिल्मले समेटेको उनी बताउँछन्।
निर्देशक माओत्से गुरुङले १२-१५ वर्षअघिदेखिको अवधारणालाई अहिले पर्दामा ल्याउन लागिएको जानकारी दिए। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहजै नपाउँदा निम्तिने समस्या, सम्बन्धको उतारचढाव, धन र प्रतिष्ठाभन्दा पनि मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको निर्देशक गुरुङको भनाइ छ।
फिल्ममा दयाहाङ राईका साथै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ र माया गुरुङलगायतका कलाकारको मुख्य अभिनय रहेको छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको यस फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्। सुशन प्रजापतिको छायाङ्कन, निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचको सम्पादन रहेको फिल्ममा मनोज थापा मगर, शिव बराइली र सुरज तामुको सङ्गीत रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment