भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज भारी वर्षाको सम्भावना, तीन दिन सतर्क रहन आग्रह
काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार विशेषगरी रसुवाको पहाडी भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरो प्रभावित क्षेत्रमा थप जोखिम बढ्न सक्ने देखिएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार भोटेकोशी बाढी प्रभावित रसुवाको पहाडी क्षेत्रमा दिउँसो भारी वर्षा हुनसक्नेछ भने अन्य प्रभावित जिल्लामा मध्यम वर्षाको सम्भावना रहेको छ।
उनका अनुसार पछिल्लो समय देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी बिर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ। अहिले देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
विभागले आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा यसअघि नै सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको अवस्थामा थप वर्षाले बाढी, पहिरो तथा डुबानको जोखिम बढाउन सक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment