अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
काठमाडौं। अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ। कोही आफन्तको तस्बिर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन्।
कसैको आखाँमा आशा छ भने कसैको मुहारमा थकान। तर, सबैको साझा खोज छ, बेपत्ता भएका आफन्तको खबर पाउने।
माथिको शब्द दृश्य महाराजगन्जस्थित टिचिङ अस्पतालको हो। भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरुका आफन्तजन खोजी गर्दै अस्पतालको परिसरमा दौडधुप गरिरहेका छन्।
त्यही खोजीको भीडमा थिए, रामेछापका रामहरि मानन्धर। बुधबार अस्पतालमा बाढीमा बेपत्ता भएका दिदी पार्वती मानन्धरको तस्बिर बोकेर उनी अस्पताल परिसरमा यताउता गरिरहेका थिए।
बाढीपछि रसुवागढीस्थित अध्यागमन कार्यालयमा कार्यरत खरिदार पार्वतीले सम्पर्कविहीन भएको उनले जानकारी दिए। रामहरि र आमा चन्द्रकुमारी शिक्षण अस्पतालमा हरेक दिन धाउँछन्। दिदीको फोटो देखाउँदै अस्पतालमा रहेको सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सोधिरहनुहुन्छ, “मेरो दिदी भेटिनुभयो कि?”
रामहरिका लागि पार्वती दिदीसँगै घर खर्च धान्ने दरिलो खम्बा हो। “पहिला पढाइ पूरा गर्नु अनि जागीर खोज्नु”, भन्दै दिदीले शिक्षामा दिएको प्राथमिकता रामहरि अहिले झलझली सम्झिन्छन्।
रामहरिका अनुसार घरको आर्थिक स्थिति कमजोर भएका कारण कान्छो भाइ एइई सकेर क्याम्पस भर्ना गर्न बाँकी थियो। यसै महिना कान्छो भाइको पनि क्याम्पस भर्ना गर्ने भन्दै दिदी पार्वतीले बताएकी थिइन्। तर, अहिले भने बेपत्ता दिदी कहाँ र कस्तो अवस्थामा छन ? बेखर रहेको रामहरिले बताए।
पार्वतीकी आमा चन्द्रकुमारीलाई छोरी भेटिने आशा छ। सानैदेखि संघर्ष गरेर सरकारी जागीरे खाएकी २२ वर्षे पार्वतीको आँटिलो स्वभावले जसरी पनि भेटिने आमा चन्द्रकुमारीको अन्तर मनको भरोसा छ।
उनका अनुसार जस्तोसुकै अवस्थामा भए पनि छोरी भेटिन्छे भन्ने लागेको छ। छोराछोरी हुर्काउन र पढाउन चन्द्रकलाले निकै संघर्ष गरेको बताउँछिन्। छोरी पार्वतीलाई मात्रै पढाउन उनले श्रीमान्सँग धेरै पटक विवाद गर्नु परेको सुनाइन्। “श्रीमान्ले छोरी नपढाए हुन्छ भन्नुहुन्थ्यो”, उनले भनिन्, “इँटाभट्टामा मजदुरी गरेर भए पनि छोरी पढाए, हुर्काएँ। अहिले कहाँ खोज्न जाउँ।”
पार्वतीले गत वैशाखमा खरिदारमा नाम निकालेपछि चन्द्रकुमारीका आँखामा हेर्दै ‘अब हाम्रा सुखका दिन आए आमा’ भन्दै खुसी क्षण साटेको सम्झिन्छिन्। छोरी पार्वतीले भनेजस्तै चन्द्रकुमारीको जीवन दुःखबाट सुखतिर मोडिदै थियो। उनको यो खुसी भदौ १० गतेदेखि धमिलिएको छ। उनी भन्छिन्, “छोरी हराएसँगै घरको आड भरोसा नै हरायो।”
रसुवाका ५८ वर्षे फुर्पु तामाङ छोरा बुहारी, दुई नातिनी र एक नाति गरी परिवारका पाँच सदस्य बेपत्तामा छन्। पहाडमा भएको पुर्खाको घर छोडेर तल्लो भाग स्याफ्रुबेंसीमा बस्दै आएका थिए। फुर्पु र उनको श्रीमती रसुवाको माथिल्लो पहाडी भेगमा बस्छन्।
बाढी आइरहँदा फुर्पुले कालोमुस्लोसहित भेल आएको देखे। उर्लिदै आएको मुस्लो देखेर छोरा, बुहारीलाई फोन सम्पर्क गर्न खोजे। तर, फोन सम्पर्क हुन सकेन। फुर्पु भन्छन्, “एक जना मात्रै भेटिए पनि हुन्थ्यो। मेरो त बुढेसकालको साहारा नै हरायो।”
गाउँ नै बगाएकाले छोरा, बुहारीको खबर सोध्ने छिमेकी कोही छैनन्। उनले कसलाई कहाँ गएर खोज्ने भन्ने अन्योलमा रहेको बताए। खोज्ने थलो अस्पतालबाहेक अरु कतै नदेखेपछि उनी हरेक दिन अस्पताल आउने गरेको सुनाए।
श्रीमतीलाई छोरा आउँछ भन्दै आश्वासन दिइरहेको उनले सुनाए। मुटुको रोगी श्रीमतीको स्वास्थ्य बिग्रिने हुँदा झुटो बोल्न उनी बाध्य छन्। “निर्धक्क रुन पनि सक्दिन। म नै कमजोर भए भने श्रीमतीलाई कसले समाल्छ?”, उनले भनृ, “मन भारी बनाएर हराएको छोरो खोजिरहेको छु।”
भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुका आफन्तजन खोज्दै अस्पताल आउने सङ्ख्या बढ्दै गएको छ। हराएका परिवारको सदस्य र आफन्त खोज्दै विदेशमा रहेका आफन्तसमेत नेपाल आएका छन्।
सिन्धुपाल्चोक हेलम्बु-४ का बक्सिङ तामाङले भोटेकोशी नदीमा आएको बाढीमा सम्पर्कविहीन भएका भाई सुनबहादुर तामाङलाई खोज्दै नेपाल आए। उनका अनुसार बाढी आएको चार दिनसम्म जापानमै सामाजिक सञ्जालमार्फत भाइ खोजिदिन अपिल गरेको भए पनि त्यसले कुनै प्रभाव नपरेपछि आफैं नेपाल आएको बताए।
अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालको परिसरमा बेपत्ता भएका भाइ सुनबहादुरको तस्बिर देखाउँदै खोजिदिन अपिल गरिरहृका छन्। उनले भने, “जापानबाट आएको भोलिपल्टै भाइ खोज्दै बाढी प्रभावित क्षेत्र त्रिशूली पुगे। त्यहाँ पनि भेटिन।
अहिले अस्पतालमा धाइरहेको छु।” बक्सिङका अनुसार सुनबहादुर रसुवाको जलविद्युत् आयोजनामा खाना पकाउने काम गर्थे। भाइसँगै काम गरेर सबै साथीहरु घर फर्किएको सुनाउँदै बक्सिङले आफ्नो भाइ पनि भेटिने आशा राखेको सुनाए।
रसुवा टिमुरेबाट बेपत्ता भएका खोटाङ घर भएका दोर्ची शेर्पालाई उनको भतिजी सपना शेर्पा खोजी गर्दै काठमाडौंका अस्पतालमा चाहरेकी छन्। कामको सिलसिलमा रसुवा बस्दै आएका काकाकाकी र दुई छोराछोरी वेपत्ता भएको उनले सुनाइन्।
जसमध्ये, काकी भने कतै भेटिएको भन्ने खबर सुन्नमा आएको उनले बताइन्। तर, कहाँ भेटिएका छन् अहिलेसम्म सम्पर्कमा नआएको सपनाले सुनाइन्। काकी भेटिएको खबरले एकातिर खुसी दिएको छ भने अर्कोतिर काका र ससाना भाइबहिनीको बेखरले निराशा बनाएको छ। सपना भन्छिन्, “काकी भेटिनुभएको सुनेर मनमा आशा पलाएको छ।”
सिन्धुपाल्चोक, बेंसी नगरपालिका-१२ का रुपेश श्रेष्ठका ससुरा बा र मामाको छोरा खोज्दै हरेक दिन शिक्षण अस्पताल धाउँछन्। सवारी चालक काम गर्ने ससुरा बा र मामाको छोरा खोज्न रुपेश चितवनदेखि काठमाडाैंका विभिन्न अस्पतालमा गएका छन्।
“आफन्तको सहयोगमा हेलिकप्टरको प्रयोग गरी चितवनसम्म खोज्न पुग्यौं। तर, कुनै पत्तो लागेन”, उनले भने, “अस्पतालमा आउँछौं, खोज्छौं फर्किन्छौं। दैनिकी यसरी बितेको छ।”
आफन्त खोज्न उहाँहरु हरेक दिन हातमा बेपत्ता आफन्तजनको तस्बिर बोकेर सैनिक अस्पताल, मनमोहन अस्पताल, नर्भिक अस्पताल, ट्रमा अस्पतालदेखि शिक्षण अस्पतालमा निरन्तर सम्पर्क गरिरहेका छन्। बिहानदेखि बेलुका ७-८ बजे अस्पतालमै बित्ने गरेको उनले सुनाए। चिनजानमा रहेका साथीहरु सबै बाढीमा बेपत्ता भएको उनले बताए।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ का यमबहादुरका छोरा सौगात गिरी बेपत्ता छन्। वसन्त भनेर चिनिने उनी टिमुरेमा मालवाहक ढुवानी चलाउने काम गर्दै आएका थिए।
टिमुरेमा बाढीसँगै बेपत्ता भएको उनले अन्तिमपटक बुहारीसँग भदौ १० गते ८.३० बजे कुराकानी भएको यमबहादुर बताउँछन्। छोरोको साथीले बीचबाटै टिमुरेमा सवारी लिएर जान भनेपछि उतै गएको खबर मात्रै उनले पाएका छन्।
त्यस खबरपछि छोरो बेखबर भएको चिन्ताले यमबहादुरको मन अशान्त छ। उनी भन्छन्, “मेरो एउटै छोरो हो। हामीलाई बाँचुन्जेल पाल्ने र मरेपछि फाल्ने उही नै थियो।” टिमुरेको एक होटलमा बसेर बिहान ८ः३० बजे चिया र खाजा खाँदै बुहारीलाई फोन गरेको थिए।
त्यसको १० मिनेटपछि छोराको सम्पर्क टुटेको यमबहादुरले सुनाए। छोरो खोज्दै चितवनसम्म पुगे पनि अरु ठाउँ खोज्ने आफ्नो कुनै उपाय नभएको बताए। अस्पतालमा उद्धारमा आएका व्यक्तिमा छोरो भेटिन्छ कि? भन्ने आशाले राख्दै उनी दैनिक अस्पताल आउँछन्।
बेपत्ता छोरोको तस्बिरतिर हेर्दै भावुक हुँदै उनले भने, “बुढेसकालको साहारा यही थियो। अब कहाँ खोज्न जाउँ?”
No ads found for this position



Facebook Comment