दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर घर फर्किन पाएनन् गोविन्द

डिसी नेपाल
२० भदौ २०८३ ७:०४

कास्की। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा-१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने ठूलो योजना थियो। आफ्ना दिदीबहिनीसँग बसेर रमाइलो गरी तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा अधिकारी थिए।

यही भदौ ९ गते साँझ ‘भिडियो कल’ मार्फत किनेका कपडा देखाउँदै ‘यो रङ कस्तो छ?’ भन्दै अधिकारीले परिवार र दिदीबहिनीसँग खुसी साटेका थिए।

दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाडपर्व मनाउने अधिकारीको त्यो सपना अब भने सधैँका लागि अधुरै रह्यो। टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भए। बाढीमा परेका अधिकारीको अवस्था त्यसयता अज्ञात छ।

घटनापछि ज्यान जोगाएर फर्किन सफल सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीहरूसँगै कार्यालयकै काममा खटिएका थिए। सोही बाढीमा भन्सार कार्यालयका १५ जना कर्मचारीहरू एकैसाथ सम्पर्कविहीन भएका थिए।

पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएर गएका अधिकारी यसबीचमा दुई पटक घर आएका थिए। परिवारका सदस्यहरू अधिकारी फेरि सकुशल घर फर्किने आशामा बसेका थिए, तर खबर आउन सकेन।

बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग निरन्तर सम्पर्कमै थिए। त्यसपछि भने परिवारको कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेन।

परिवारले पटक–पटक अधिकारीको मोबाइलमा फोन गरे। विभिन्न ठाउँमा बुझे भने अस्पताल र शव राखिएका सम्भावित स्थानहरूमा समेत खोजी गरे। सुरुमा विकट भूगोल र अप्ठ्यारो परिस्थितिका कारण सम्पर्क हुन नसकेको हुन सक्ने भन्दै परिवारले अधिकारी सकुशल फर्किने आशा मारेको थिएन।

बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको त्यो आशा पनि समाप्त भयो। लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु परम्परा र संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरी काजकिरिया सुरु गरेको छ।

छोरा विनय अधिकारीले बुबासँग बाढी आएको दिनको बिहानसम्म परिवारको सम्पर्क रहे पनि त्यसपछि कुराकानी हुन नसकेको बताए।

“बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ। तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन,” विनयले मलिन अनुहार र सुस्त आवाजमा भने।

बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानहरूमा खोजी गरेको विनयले बताए। धादिङमा एउटा शवको तस्बिर मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो। तर, प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो।

“धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,” विनयले भने, “तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो।”

अधिकारीका छिमेकी एवं मिल्ने साथी रहेका नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखि नै समावेशी टोलमा सन्नाटा छाएको बताए।

सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको बरालले बताए। शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालहरूसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बरालको भनाइ छ।

“जागिरका क्रममा गोविन्द टिमुरे गए पनि दैनिकजसो कुराकानी हुन्थ्यो। टाढा रहे पनि टोल र छिमेकको सधैँ चासो हुन्थ्यो। कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो। साथीको यस्तो अकल्पनीय घटनाले गहिरो पीडा दिएको छ,” बरालले दुःख व्यक्त गरे।

सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्थे। समावेशी टोलको सहसचिवका रूपमा अधिकारीले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए।

अधिकारीको अर्को विशेष पहिचान थियो मुरलीको मधुर धुन। विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने कला टोलवासीका लागि अहिले मिठो सम्झना बनेको छ।

छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउँदैनथे।

“साथीभाइ जम्मा हुनेबित्तिकै गोविन्द मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउँथे। घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ। अर्को मुरली सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भने।

तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ। परिवारमा आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन्।

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन्। घटनामा परेर कुनै जानकारी नपाएकाका परिवारहरू अझै पनि आफ्ना प्रियजन फर्किने झिनो आसमा छटपटाइरहेका छन्।

बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। अन्यको अवस्था भने हालसम्म अज्ञात नै रहेको बरालले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *