बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अहिल्यै वडा अधिवेशन सम्भव छैन : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा तत्काल वडा अधिवेशन गराउन सक्ने अवस्था नरहेको बताएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले ती जिल्लाहरूमा तोकिएको समयमा अधिवेशन गर्न कठिन भएको स्पष्ट पारे।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि आगामी भदौ २४ गतेका लागि वडा अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। तर, बाढी-पहिरोका कारण तल्ला तहका अधिवेशनको कार्यतालिका परिमार्जन हुन सक्ने थापाले संकेत गरेका छन्।
‘हामीलाई वैधानिक बाध्यता छ। असोज १६ गते कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरू हुन्छ, यो तिथिमिति तलमाथि गर्न सक्ने सुविधा हामीसँग छैन,’ सभापति थापाले भने, ‘तर विपद्को यो अवस्थामा रसुवा, नुवाकोट र धादिङमा ठूलो असजिलो छ। मैले स्थलगत रूपमा बुझ्दा पनि यी तीन जिल्लामा अहिलेकै अवस्थामा नियमित वडा अधिवेशन गर्न सक्ने परिस्थिति देखिनँ।’
बाढीमा हराइरहेका आफन्त र परिवारको खोजीमा रामेछाप, गोर्खा लगायत अन्य जिल्लाका मानिसहरू समेत भोटेकोशी क्षेत्र पुगेकाले वातावरण सहज नरहेको उनले बताए।
प्रभावित जिल्लाहरूमा वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्ने विषयमा कार्यसम्पादन समिति बैठकमा थप छलफल गरी तल्ला तहको नयाँ कार्यतालिका ल्याइने सभापति थापाले जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment