एसिसी प्रिमियर कप: समूह विजेता बन्ने लक्ष्यका साथ आज नेपाल हङकङविरुद्ध मैदान उत्रिँदै

डिसी नेपाल
२३ भदौ २०८३ ७:३३

काठमाडौं। मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ। क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा हुने यो खेल बिहान ७:१५ बजेदेखि सुरु हुनेछ।

आजको खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुग्ने दाउमा नेपाल रहेको छ। जारी प्रतियोगितामा लगातार तीन खेल जितेको नेपाल हालसम्म अपराजित रहँदै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।

नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो।

नेपाली टोली आज हङकङविरुद्ध पनि सहज जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने रणनीतिमा छ। अर्कोतर्फ, हङकङले भने प्रतियोगितामा खेलेका तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार व्यहोरेको छ।

एकदिवसीय  अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चारपटक मात्रै भेट भएको छ। जसमा हङकङले दुई खेल जित्दा नेपालले एक खेलमा सफलता हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय खेल खेलिएको थियो, जहाँ नेपालले हङकङलाई ५ विकेटले हराएको थियो। नेपाली टोली आज क्वालालाम्पुरको मैदानमा आठ वर्षअघिको सोही ऐतिहासिक जितलाई दोहोर्‍याउने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *