बाढीपीडितलाई दुगड ग्रुपको १ करोड ११ लाख सहयोग

डिसी नेपाल
२३ भदौ २०८३ ७:४६

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एम.भी. दुगड ग्रुपले एक करोड ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

घटनाको तेह्रौँ दिन सोमबार राष्ट्रिय शोक दिवसका अवसरमा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र सञ्चालक शुभम दुगडले संयुक्तरूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

एम.भी. दुगड ग्रुप र यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक योगदानसहित कुल १ करोड ११ लाख रुपैयाँ अर्थमन्त्री वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष मोतीलाल दुगडले जानकारी दिए। यो सहयोग रकम हालसम्म नेपालको निजी क्षेत्रबाट विपद् व्यवस्थापनका लागि उपलब्ध गराइएको ठूलो रकममध्ये पर्दछ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले यस विनाशकारी विपद्को मुख्य कारकका रूपमा जलवायु परिवर्तन र ग्लोबल वार्मिङ रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। वातावरण संरक्षणप्रति आफ्नो उत्तरदायित्व बोध गर्दै ग्रुपले विगत पाँच वर्षदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।

हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवाका साथै ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गरिएको जानकारी उनले दिए। ग्लोबल वार्मिङको असर न्यूनीकरण गर्ने यस अभियानमा ग्रुप र कर्मचारीहरू निरन्तर लागिपर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नेपालको निजी क्षेत्रको ठूलो ऊर्जा उत्पादक मानिने एमभी दुगड समूहले आगामी दिनमा बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका सुरक्षाकर्मीहरूमार्फत राहत सामग्री वितरण गर्ने योजनासमेत बनाएको छ।

ग्रुपका तर्फबाट सहयोग रकम प्राप्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले प्राकृतिक विपद्को यो कठिन घडीमा निजी क्षेत्रबाट प्राप्त साथ र सहयोगले सरकारलाई थप हौसला र बल मिलेको बताए।

उनले विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। भोटेकोशी बाढीबाट पीडित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुट्ने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *