सुनसरीका विभिन्न स्थानमा मैनबत्ती प्रज्वलन गरी मनाइयो ‘जेन्जी सहिद दिवस’

डिसी नेपाल
२४ भदौ २०८३ ६:५८

इनरुवा, जेन्जी सहिद दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा दीप तथा मैनबत्ती प्रज्वलन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जेन्जी  युवाहरूको पहलमा संयुक्त रूपमा मैनबत्ती प्रज्वलन गरी दिवस मनाइएको हो।

सदरमुकाम इनरुवासहित कोसी, दुहबी, हरिनगर, भोक्राहा र बराहक्षेत्रलगायतका क्षेत्रमा युवाहरू भेला भई दिवङ्गतहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। कार्यक्रममार्फत युवाहरूले समाजमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिएका थिए।

इनरुवाको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद तथा घाइतेहरूको स्मरण गरियो। सो अवसरमा सहभागीहरूले युवाको आवाज, अधिकार र भविष्य निर्माणका विषयमा राज्य तथा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

कार्यक्रममा रास्वपाका जिल्ला सभापति सागर दाहालका साथै युवा अभियान्ताहरू सत्य यादव, अभिषेक खेरवार, हैदर अलीलगायत स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले देशमा सुशासन, जवाफदेहिता, सामाजिक न्याय र युवामैत्री वातावरण निर्माण हुनुपर्नेमा विशेष जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *