सडक अवरोध र विपद्को अफवाहले सौराहा सुनसान: सेप्टेम्बरका अधिकांश बुकिङ रद्द

नारायण अधिकारी/रासस
२४ भदौ २०८३ १०:१९

चितवन।  पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन्। यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै बनेको छ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको बुकिङ ६० प्रतिशत थियो। भोटेकोशीमा आएको बाढीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती बुकिङ रद्द हुँदा होटल सुनसान बनेको हो।

अध्यक्ष पाण्डेले आफ्नो जस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिए। नेपालका सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन।

कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडकहरू सञ्चालनमा छन्। यद्यपि, पर्यटकहरूले धमाधम बुकिङ रद्द गरिरहेका छन्। यस महिनाका सबै बुकिङ रद्द भएको उनले बताए।

भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि गरेको बुकिङ कार्यक्रम स्थगन गरेका छन्।

अध्यक्ष पाण्डेले भने, “संवादका क्रममा पर्यटकहरूले नेपालमा विपद् परिरहेका समयमा आफूहरू त्यहाँ रमाउन नसक्ने जानकारी दिएका छन्। अन्तरराष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम छैन भन्ने सन्देश प्रवाह गर्नुपर्छ।”

गत वर्षको यो समयमा जेनजी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीहरूले गरेका थिए। सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवालले भारतीय पर्यटक बढी आउने यो बेलामा बाटोका कारण समस्या भएको जानकारी दिए।

बाढी आउँदाभन्दा सडक अवरुद्ध हुँदा बढी बुकिङ रद्द भएको उनको भनाइ छ। उनले भने, “भोटेकोशीमा बाढी आउँदा केही बुकिङ रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएका छन्।”

मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले बुकिङ रद्द गर्दा यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको जनाइएको छ। उनले थपे, “अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिन सक्नुपर्छ।”

होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले विभिन्न देशहरूले नेपाललाई असुरक्षित सूचीमा राखेकाले विदेशी पर्यटकले बुकिङ रद्द गरेको बताए। वर्षात्पछि अबका दिनहरूमा क्रमशः स्वदेशी र विदेशी पर्यटक आएर विगतमा सौराहा भरिने गरेको उनले स्मरण गरे।

वर्षात्को समयमा पनि शनिबार र आइतबार बिदा हुँदा आन्तरिक पर्यटक आउने गरेकामा बाढी र त्यसपछिको सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटक पनि नआएको उनले बताए।

‘सेप्टेम्बर’ र ‘अक्टोबर’ महिनाका लागि गरिएका अधिकांश बुकिङ रद्द भएको उनको भनाइ छ। ‘सेप्टेम्बर’ का सबै बुकिङ रद्द भएका छन् भने अवस्था सुध्रिएमा ‘अक्टोबर’ मा गरिएका केही बाँकी बुकिङ रद्द नहुने अपेक्षा उनले गरेका छन्। त्यसपछिका महिनामा पूर्ववत् अवस्थामा पर्यटक आउनेमा व्यवसायीहरू आशावादी छन्।

सौराहामा यतिबेला सरदर पाँच प्रतिशत मात्र पर्यटक रहेको अनुमान छ। गत वर्ष यतिबेला २५ देखि ३० प्रतिशत पर्यटक हुने गर्दथे। केन्द्रीय सदस्य घिमिरेले अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।

सरकारले विश्वका विभिन्न देशमा रहेका राजदूतहरूमार्फत नेपालको अहिलेको अवस्थाका बारेमा सम्बन्धित देशमा सही सूचना प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरीले चोकैमा रहेको आफ्नो रेष्टुरेन्ट र होटलसमेत सुनसान भएको जानकारी दिए। विगतमा रेष्टुरेन्ट भिडभाड हुने यो समयमा पर्यटक नआएको जनाउँदै उनले भएका बुकिङसमेत रद्द भएको बताए। बुकिङ रद्द भएको अवस्था हेर्दा ‘नोभेम्बर’ सम्मको स्थिति नकारात्मक देखिएको उनको भनाइ छ।

भोटेकोशीको बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत परेका कारण अन्तरराष्ट्रिय जगत्मा नेपाल असुरक्षित छ भन्ने सन्देश पुगेको व्यवसायीहरू गुनासो गर्छन्।

सीमित भूगोलमा बाढीको प्रभाव रहे पनि नेपालका अन्य भूभाग सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी देखिएको छ। यसका बारेमा अन्तरराष्ट्रिय जगत्मा सही सन्देश प्रवाह गर्न नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको जनाइएको छ।

सौराहामा १२० भन्दा बढी होटलहरू छन्, जहाँ एकैदिन पाँच हजारभन्दा बढी पर्यटकलाई राख्न सक्ने क्षमता छ। यहाँबाट काठमाडौँका लागि दैनिक पर्यटक बस चल्ने गरेकामा पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएसँगै ती बसहरू रोकिएका छन्।

हवाई भाडा महँगो र उच्च चापका कारण पर्यटकहरू सहजै आउने परिस्थिति छैन। मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यहाँ बस्ने गर्दथे। यस्तै, देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा र सम्मेलन गर्न नेपालीहरू यहाँ आउने गर्छन्।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई लिने गरिन्छ भने सफारी पर्यटनको हिसाबले यो पहिलो गन्तव्य हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *