जापानको फुकुओकामा नेपाली छात्राको हत्या आरोपमा तीन जना नेपाली पक्राउ
काठमाडौं । जापानको दक्षिण-पश्चिमी सहर फुकुओकास्थित तेन्जिन क्षेत्रको एक नदीमा गत अगस्टमा मृत फेला परेकी एक नेपाली प्राविधिक शिक्षालयकी छात्राको हत्या अभियोगमा मङ्गलबार तीन जना नेपाली नागरिक पक्राउ परेका छन्। प्रहरीले यसबारे जानकारी दिएको हो।
पक्राउ पर्नेहरूमा फुकुओकामा अध्ययनरत २८ वर्षीया प्राविधिक शिक्षालयकी छात्रा सञ्जु तामाङ, सागा प्रान्तको तोसुमा बस्दै आएकी २५ वर्षीया अस्मिता तामाङ र तोसुमै बसोबास गर्ने २२ वर्षीय अन्तर्राष्ट्रिय विद्यार्थी प्रवीन लामा रहेका छन्। उनीहरूमाथि २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या गरेको आरोप छ। राजवंशी सन् २०२३ को मे महिनातिर विद्यार्थी भिसामार्फत जापान पुगेकी थिइन्।
प्रहरीका अनुसार अगस्ट १८ को राति ११:३० देखि भोलिपल्ट मध्यराति १२:१५ बजेको समयबीच फुकुओकास्थित आफ्नै डेरामा राजवंशीमाथि पकाउने भाँडोले टाउकोमा प्रहार गरिएको र डोरीले घाँटी थिचिएको थियो। त्यसपछि उनलाई बार्दली (बाल्कोनी) बाट तल नदीमा खसालिएको र नदीमा डुबेर उनको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार सञ्जु, राजवंशीले प्रेम गरिरहेका व्यक्तिसँगै बस्दै आएकी थिइन्। सञ्जुले नै राजवंशीमाथि आक्रमण गरी तेस्रो तलाको बार्दलीबाट तल खसालेको अनुमान गरिएको छ।
अगस्ट १९ को बिहान करिब ५:४५ बजे तेन्जिन क्षेत्रस्थित नाका नदीमा एक सर्वसाधारणले शव तैरिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए। राजवंशीलाई नदीबाट बाहिर निकालिएको थियो र घटनास्थलमै उनलाई मृत घोषित गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment