ओली पत्नी शाक्यले भनिन्- भदौ २४ मा घरमात्रै होइन, ओलीलाई नै पन्छाउने उद्देश्य थियो

डिसी नेपाल
२४ भदौ २०८३ १६:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ।

बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको छ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो घर सम्पत्ति मात्रै जलाउने योजना नभएको दाबी गरिन्। ओलीलाई नै सधैँका लागि पन्छाउने उद्देश्यसमेत रहेको उनको भनाइ थियो।

‘हाम्रो घर सम्पत्तिमात्र जलाउने योजना खरानी ग्याङको थिएन होला। मूलतः केपी सरलाई नै सधैँका लागि पन्छाउने पहिलो उद्देश्य ती खरानी ग्याङको हुनुपर्छ। तर हामी बच्न सफल भयौँ,’ उनले भनिन्।

गत वर्ष नै आफूहरूलाई मारिएको भए अहिले कालो दिवससँगै आफ्नो मृत्युको वर्षको पुण्यतिथि मनाइरहेको अवस्था हुने उनले बताइन्।

शाक्यले आफूहरूमाथि विभिन्न बहाना बनाएर मानसिक तनाव दिने काम अझै नरोकिएको गुनासो गरिन्। आफूहरू बिना कसुर अपराधी भएको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाइन्।

‘एक थोपा रगत र एक मुठी सास रहेसम्म यो देशको सेवा गरौँला भन्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छोडेका छैनन्,’ उनले भनिन्।

आफूसँग रहेका विभिन्न विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालयसमेत स्थापना गर्ने आफ्नो इच्छा रहेको उनले बताइन्। तर, बालकोटको घरमा भएको आगजनीसँगै ती सबै सपना खरानी भएको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *