संघीय संसद्का दुवै सदनको बैठक आज: अर्थमन्त्रीले विभिन्न विधेयक पेस गर्ने
राष्ट्रिय सभामा विशेष सेवा ऐनबारे छलफल
काठमाडाैं। संघीय संसद्का दुवै सदनको बैठक आज (२५ भदौ) अपराह्न बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे तय गरिएको छ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
यसका साथै उनले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गर्नेछन्।
यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने’ प्रस्तावमाथि सामान्य छलफलको प्रस्ताव राख्नेछन्। बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
उता राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्। साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment